बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहित्य लेखनमा युवा पुस्ताकाे सक्रिय सहभागीता आवश्यक रहेकाे बताउनु भएको छ ।
साहित्यिक चाैतारी नेपालकाे ११औं बार्षिकाेत्सवकाे बुटवलमा शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले साहित्य लेखनमा युवा पुस्ताकाे सक्रिय सहभागीता आवश्यक रहेकाे बताउनु भएको हाे ।
`साहित्य, सृजना तथा लेखन कार्यमा युवाहरुकाे सहभागीता आवश्यक छ । युवाहरुले समाज रुपान्तरणका लागि याेगदान पुर्याउन जरुरी छ´उहाँले भन्नुभयाे-`साहित्यले जागरण ल्याउन र सकारात्मक धारणा निर्माण गर्न पनि भूमिका बढाउन जरुरी छ ।´ साहित्यक क्षेत्रमा नयाँ पुस्ताकाे सहभागीता बढाउनेगरी भूमिका बढाउन आह्वान गर्नु भएको छ ।`पहिला विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । भाषा, कला, संस्कृतिकाे बारेमा विद्यार्थीहरुले नयाँ ज्ञान सीप सिक्ने अवसर थियाे । अहिले आधुनिकताकाे नाममा यस खाले अभ्यास हराउँदै जान थालेकाे छ´उहाँले भन्नुभयाे-`नयाँ पुस्तामा साहित्यक कार्यक्रम केन्द्रीत गर्न जरुरी छ ।´ विद्यालय तहमा सुरु भएको मेराे विद्यालय, मेराे दायित्व अभियानमा पनि साहित्यक कार्यक्रमलाई केन्द्रित गर्न तर्फ पनि पूर्व विद्यार्थिहरुमा आह्वान गर्नु भएको छ ।
साहित्यिक चाैतारी नेपालका केन्द्रीय अध्यक्ष गिता भण्डारीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएको थियाे । भाषा र साहित्यकाे क्षेत्रमा युवा विद्यार्थीहरुकाे क्षमता बढाउन संस्थाले भूमिका खेलिरहेकाे संस्थाका अध्यक्ष गिता भण्डारीले बताउनु भयाे ।`जहाँ नेपाली पुग्छ त्यहाँ नेपाली भाषा र संस्कृति पुग्न जरुरी छ भन्ने उदेश्य सहित विदेशमा पनि अभियान थालेका छाैं´उहाँले भन्नुभयाे-`सबै उमेर समुहमा नेपाली भाषा र साहित्यकाे प्रवर्द्धन गर्न याेगदान गरिरहेका छाैं ।´
मुख्यमन्त्री आचार्यले चाैतारी अंक ७ र अग्नि सरिता कृति विमाेचन गर्नु भएकाे थियाे ।











