शुक्रबार, चैत्र ६, २०८२

नेपाल राष्ट्रिय माविको ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

भालुबाङ १३ फागुन । राप्ती गाउँपालिका–१ भालुबाङस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले ५७औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भव्य रूपमा सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर मरासिनीको अध्यक्षतामा तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शैक्षिक गुणस्तर सुधार र विद्यालयको भूमिकाका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सुमधुर भए मात्र अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले सामुदायिक विद्यालयमा समुदायको अपनत्व आवश्यक रहेको बताउँदै हाल यी विद्यालयहरू गरिब तथा विपन्न परिवारका बालबालिकाको अध्ययनस्थल मात्र बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । साथै, संविधानमै जनप्रतिनिधि तथा सरकारी कर्मचारीका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउने कानुनी व्यवस्था लागू गर्नुपर्ने धारणा राख्नुभयो ।

समाजको उन्नति र विकास शिक्षामार्फत मात्र सम्भव रहेको उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने धारणा गलत भएको बताउनुभयो । पछिल्लो समय बालबालिकामा संस्कार र श्रम गर्ने बानीको कमी देखिएको भन्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । शिक्षण सिकाइ क्रियाकलापलाई सिकाइमैत्री बनाउनुपर्ने तथा विद्यालयहरूले जीवनशैली परिवर्तन गर्ने खालको शिक्षामा जोड दिनुपर्ने सुझाव पनि दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक देउकुमार वलीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय तथा समयानुकूल शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो। विद्यालयले निरन्तर सुधार गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाका लागि प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षक अभिभावक संघका संयोजक नारायण प्रसाद शर्मा, गोरखा आइडल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगर, त्रिसिद्धेश्वरी यातायात प्रालिका मोहन कुमार श्रेष्ठ, अभिभावक पुष्पा पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक माधवप्रसाद सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक ध्रुव मल्लले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation