मसुरीया १३ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया शिरिचौरमा महाशिवरात्रीको अवसरमा मंगलबारदेखि महाशिवरात्री साँस्कृतिक मेला सुरु भएको छ ।
घण्टदेव सामुदायिक वन उपभोक्ता समिति शिरिचौरको आयोजनामा तथा घण्टदेव युवा क्लबको सहआयोजनामा सुरु भएको मेलाको उद्घाटन राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले गर्नुभयो ।
घण्टदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षतामा तथा उपाध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष चौधरीले समुदायमा सांस्कृतिक परम्परा र धार्मिक भावनाको संरक्षण गर्न यस्तो मेला महत्वपूर्ण हुने बताउनुभयो ।
“यसले स्थानीय कलाकार र परम्परागत कलाकृतिहरूलाई प्रवर्द्धन गर्ने मात्र होइन, समुदायबीचको एकता र सद्भावना पनि बढाउनेछ,” उपाध्यक्ष चौधरीले भन्नुभयो ।
उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी, वन महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, वडा सदस्य चम्फा भुसाल, इश्वरी परियार, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने मेलामा नियमित पूजापाठ, मगर पञ्चेबाजा लोकनृत्य प्रस्तुति, खुल्ला लोकनृत्य प्रतियोगिता, मगर र थारु खानाका परिकारहरू, जादू कला लगायत विभिन्न आकर्षणहरू रहने बताइएको छ ।
घण्टदेव सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेक बहादुर गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष भान बहादुर घर्ती मगरले गर्नुभएको थियो ।











