बुधबार, कार्तिक २०, २०८२

विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

नवलपरासी १५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ ।

रामनगर जेसीज लुम्बिनी प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकार लागिपरेको बताउनु भएको हो ।

मुख्यमन्त्री आचार्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमार्फत सामुदायिक विद्यालयमा खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने संकल्प गरिएको उल्लेख गर्दै गत वर्षको एसईईको नतिजा कमजोर आएकाले यस वर्ष सुधार गर्ने लक्ष्य राखिएको बताउनु भयो ।‘अभियानले पूर्व विद्यार्थीहरूको योगदानलाई महत्व दिँदै थालनी गरिएको छ । अहिले चारैतिरबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकार शैक्षिक संस्थाहरूको सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न प्राथमिकताका साथ अघि बढिरहेको छ । विद्यालयको हरेक क्षेत्र सुधार गर्दै अघि बढ्नका लागि समुदायको पूर्ण साथ र सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले विद्यार्थी, अभिभावक, शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई अभियानमा जोडेर सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले गत वर्षको एसईई नतिजालाई आधार मानेर शैक्षिक क्षेत्रको गुणस्तर मापन गरेको र त्यसलाई सुधार गर्ने प्रयासस्वरूप कारणहरूको खोजीमा लागेको छ । ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले विद्यालयका पूर्व विद्यार्थीहरूलाई योगदान दिन प्रेरित गरिरहेको बताउँदै उहाँले कतिपयले आर्थिक रूपमा, कतिपयले प्राविधिक रूपमा तथा कतिपयले सिकेको सीप हस्तान्तरण गरेर विद्यार्थीलाई सहयोग गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीको मनोबल उच्च बनाउने, अभिभावकको विश्वास जित्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले शैक्षिक गतिविधिहरू अगाडि बढाइएको बताउनुभयो । अन्य विद्यालयहरूका लागि पनि सिकाइ केन्द्र बन्ने विश्वास व्यक्त गर्दै उहाँले शैक्षिक सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो ।

उहाँले १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई संगठित गरी समाज परिवर्तनको अभियानमा गोलबन्द गरिएकोमा खुशी व्यक्त गर्दै युवाहरूमा सकारात्मक सोचको विकास गरेर सामाजिक कार्यहरू अघि बढाउन आवश्यक रहेको बताउनुभयो । जेसीजले हरेक गतिविधिलाई समाजसँग जोड्न सफल भएको उल्लेख गर्दै उहाँले युवामा पलाउँदै गएको नकारात्मक भावनालाई सकारात्मक दिशामा लैजान जरुरी रहेको बताउनुभयो ।

रामनगर जेसीज सन २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेत लगायतको विशेष उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation