बिहिबार, चैत्र ५, २०८२

लघु उद्यम विकास कार्यक्रमले उद्यमीलाई आत्मनिर्भर बनाउँदै, बजारीकरणमा अझै चुनौती

देउखुरी ५ चैत । लमही नगरपालिकामा सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सीपमूलक तालिमबाट हालसम्म करिब ४ सयभन्दा बढीले विभिन्न सीप हासिल गरेका छन् भने हाल करिब ६० जना महिला तथा पुरुष सक्रिय रूपमा लघु उद्यमीका रूपमा स्थापित भएका छन् ।

२०७७ सालदेखि सञ्चालनमा रहेको यस कार्यक्रममार्फत च्याउ उत्पादन, दुना टपरी निर्माण, बाख्रा तथा बंगुर पालन, बाँसबाट हस्तकला निर्माण, होजियारी, सिलाई बुटिक, डल कुशन निर्माण, कपडाको झोला सिलाई तथा चप्पल उत्पादन जस्ता आयमूलक सीप प्रदान गरिएको लघु उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिनुभयो ।

कार्यक्रमले धेरैलाई रोजगारीसँग जोड्न सफल भए पनि उत्पादनको बजारीकरण भने अझै चुनौतीपूर्ण रहेको देखिएको छ । वडा नम्बर ४ का उद्यमी बाबु रोका मगरले सीप सिकेर उत्पादन गरे पनि बजार अभावका कारण समस्या भोग्नु परेको बताउनुभयो । “उत्पादन मात्र गरेर हुँदैन, बजार नपाए सीप खेर जान्छ,” उहाँले भन्नुभयो, “राज्यले हाम्रो उत्पादनको बिक्रीका लागि सहयोग गर्नुपर्छ ।”

त्यस्तै वडा नम्बर ६ का महिला उद्यमी सुकमानी चौधरीले समूहमा च्याउ उत्पादन गर्दै राम्रो आम्दानी भइरहेको बताउनुभयो । तर सबै उत्पादनमा समान रूपमा बजार नपाउने समस्या रहेको उहाँको भनाइ छ । वडा नम्बर ६ कै गीतारानी चौधरीले थारु समुदायमा प्रयोग हुने ढकिया उत्पादन गरे पनि चाडपर्व बाहेक बिक्री न्यून हुने गरेको गुनासो गर्नुभयो ।

लमही नगरपालिका वडा नम्बर १ मा शान्ता भैया मगरले लामो समयदेखि होजियारीको काम गर्दै आउनु भएको छ । त्यस्तै वडा नम्बर ३ मा नमूना बुढा मगर र ९ मा पिउदेवि योगीको समूहले दुना टपरी उत्पादन गर्दै आउनु भएको छ । उत्पादन भएका दुना टपरी राम्रै खपत हुने गरेको उहाँहरुको भनाई छ । त्यसैगरी लमही नगरपालिका वडा नम्बर ५ मा सिलाई बुटिक र कटाई सिलाईको पेशा गरेर महिलाहरु आर्थिक आय आर्जनसंग जोडिएका छन ।

यसै विषयमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी ले लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले उद्यमीका उत्पादनको बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “उद्यमीलाई उत्पादनसँगै बजारसँग जोड्ने काम नगरपालिकाले प्राथमिकतामा राखेको छ,” उहाँले भन्नुभयो ।

उपप्रमुख लक्ष्मी योगीले महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा यो कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उत्पादनलाई दिगो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले उद्यमीहरूलाई समूहमा संगठित भई काम गर्न र उत्पादित सामग्रीको ब्रान्डिङ तथा प्रवर्द्धनमा जोड दिन आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले उद्यमीहरूलाई आवश्यक प्राविधिक सहयोग, तालिम तथा बजारीकरणमा सहजीकरण गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । उहाँले उत्पादनको गुणस्तर वृद्धि र बजार पहुँच विस्तार गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिने स्पष्ट पार्नुभयो ।

लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आत्मनिर्भरता बढाउने काम गरिरहेको भए पनि उत्पादित वस्तुको प्रभावकारी बजारीकरण सुनिश्चित गर्न थप पहल आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation