दाङ १८ फागुन । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले आज देखि शुरू गरेकाे चरणबद्ध निर्णायक आन्दाेलनकाे २४ घण्टा नबित्दै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिती गठन गरेकाे छ ।
सामुदायिक वन उपभोक्ता महासंघले राखेका विभिन्न मागहरुको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो । लुम्बिनी प्रदेशसभा अन्तरगत रहेको कृषि, वन तथा वातावरण समितिका सभापती विश्वप्रेम पाठक संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिनुभयो ।
वार्ता समितिमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघले राखेका मागहरुको सम्बन्धमा गठित वार्ता समितिले छलफल गर्नेछ । सामुदायिक वन उपभोक्ता महासंघले प्रदेश आर्थिक ऐन २०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजी लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ ।
वन महासंघले कर खारेजीकाे माग गर्दै शुरू भएकाे आन्दाेलनकाे पहिलाे दिन मै प्रदेश सरकारले उच्च स्तरिय वार्ता समिती गठन गरेकाे छ । सरकारले वार्ता समिती गठन गरेपनि याे समाचार तयार पार्दा सम्म महासंघलाई औपचारिक पत्र भने पठाएकाे छैन ।
यता वन महासंघले पनि सरकारले वार्ता समिती गठन बारे कुनै जानकारी प्राप्त नभएकाे जनाएकाे छ । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले सरकारले वार्ता समिती गठन बारे कुनै प्रकारकाे सुचना प्राप्त नभएकाे बताउनु भएकाे छ । उहाँले सरकारले वार्ता समिती गठन गरेपनि माग पूरा नहुँदा सम्म आन्दाेलन जारी रहने बताउनु भएकाे छ । सरकारले लिखित रूपमा वार्ताका लागि बाेलाए आफूहरू वार्तामा जान तयार रहेकाे बताउनुभयाे । तर माग पूरा नहुँदा सम्म आन्दाेलन नराेकिने बताउनुभयाे ।
यस अघिकाे आन्दाेलनमा सरकारले कार्यदल गठन गरेर समस्या हल गर्ने सहमतिमा आन्दाेलन स्थगित भएकाे थियाे । तर सरकारले छलफल गर्ने त परैकाे कुरा कार्यदल समेत बनाउन तयार नदेखिए पछि वन महासंघ निर्णायक आन्दाेलनमा उत्रिएकाे हाे । यस पटककाे आन्दाेलनबाट सरकारलाई घुँडा टेकाउने र कर खारेजी गराएर छाेड्ने गरी महासंघले आन्दाेलन शुरू गरेकाे जनाएकाे छ ।











