बुधबार, कार्तिक २०, २०८२

राप्ती गाउँपालिका वडा नम्बर ६ द्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

सिसहनियाँ १८ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ ले युवाहरूलाई स्वदेशमै रोजगारसँग जोड्ने तथा बढ्दो शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

एक महिनासम्म सञ्चालित तयारी कक्षामा २३ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

आइतबार एक औपचारिक कार्यक्रमका बीच तयारी कक्षाको समापन गरिएको छ ।

समापन कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षित बेरोजगार युवाहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न वडा कार्यालयले चालेको कदम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सहभागी विद्यार्थीहरूलाई घरमै बसेर निरन्तर अभ्यास गरी सरकारी सेवामा प्रवेश गरेर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभयो ।

त्यस्तै, वडा अध्यक्ष दीपक कुमार चौधरीले वडाबासी युवायुवतीहरूलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले एक महिनाको अवधि छोटो भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता उपयोगी तथा प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहभागी विद्यार्थी लक्ष्मण चौधरीले घोराही तथा जिल्ला बाहिर गएर पढ्नुपर्ने बाध्यतालाई चिर्न यो कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिनुभयो ।

वडा सचिव संजिता पौडेलले अनुभवी प्रशिक्षकहरूद्वारा विद्यार्थीहरूलाई लोकसेवा परीक्षासम्बन्धी आवश्यक व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation