भालुबाङ १९ फागुन । दाङको राप्ती गाउँपालिकाले शैक्षिक सत्र २०८१ देखि लागू हुने गरी कक्षा ५ को वार्षिक परीक्षा गाउँपालिकास्तरबाट लिने निर्णय गरेपछि निजी विद्यालयहरूले असहमति जनाएका छन् ।
सोमबार संस्थागत विद्यालय समन्वय समितिले पालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णयप्रति असहमति व्यक्त गरेका हुन् ।
समितिको बैठकपछि प्याब्सन र एनप्याब्सन अन्तर्गतका निजी विद्यालयहरूले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
निजी विद्यालयका प्रतिनिधिहरूका अनुसार, कतिपय विषयहरू नमिल्ने र शैक्षिक सत्रको अन्त्यमा मात्र विद्यालयहरूलाई जानकारी दिइएकाले यस वर्ष पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी हुन नसकिने बताइएको छ ।
यद्यपि,आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूको सहभागितामा व्यापक छलफल गरी निर्णय गरिएमा पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी हुन सकिने संस्थागत विद्यालय समन्वय समितिका संयोजक विलोचन चौधरीले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा एकरूपता, गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्न पालिकास्तरीय परीक्षा लागू गर्न लागिएको स्पष्ट पार्नुभयो ।
“शिक्षा सबैका लागि समान हुनुपर्छ। पालिकास्तरीय परीक्षा प्रणालीले सार्वजनिक तथा निजी विद्यालयहरूबीचको असमानता घटाउने र शिक्षाको स्तर उकास्ने उद्देश्य राखेको छ,” अध्यक्ष विष्टले भन्नुभयो ।
निजी विद्यालयहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिइने बताउँदै अध्यक्ष विष्टले थप छलफलका लागि बैठक बोलाइने जानकारी दिनुभयो ।
“विद्यालयहरूको सुझाव र मागको आधारमा सहमति कायम गर्दै अघि बढ्नेछौं। सबै पक्षको सहकार्यमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।











