बुधबार, कार्तिक २०, २०८२

राप्तीमा क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न

मसुरीया २५ फागुन । दाङको राप्ती गाउँपालिकाले क्षयरोग नियन्त्रणसम्बन्धी अर्धवार्षिक समीक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभयो । उहाँले टोलटोलमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागितामा क्षयरोगीको खोजी, पहिचान र उपचारलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष विष्टले क्षयरोग एकदमै छिटो सर्ने भएकाले उपचार गर्नुभन्दा रोकथाममै प्राथमिकता दिनुपर्ने बताउनुभयो । यसका लागि प्रभावकारी स्वास्थ्य शिक्षा आवश्यक रहेको उल्लेख गर्दै उहाँले समुदायस्तरमै जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले राप्ती गाउँपालिकामा “क्षयरोगमुक्त (टीबी-फ्री) कार्यक्रम” लागू गरिएको बताउँदै यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक पदम प्रसाद पौडेलले गाउँपालिकामा क्षयरोगको अवस्था र रोग नियन्त्रणका लागि चालिएका कदमहरूको बारेमा प्रस्तुति दिनुभयो ।

कोहर्ट विश्लेषण कार्यक्रममा राप्ती आधारभूत अस्पताल, कालापानीकी सिनियर अहेब सीता आचार्य र लालमटिया स्वास्थ्य चौकी, भालुबाङका सिनियर अहेब भुवन भण्डारीले क्षयरोगको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, गाउँपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण पालिकाका जनस्वास्थ्य निरीक्षक पदम प्रसाद पौडेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation