मसुरीया २६ फागुन । परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले खुकुरी तथा कृषि औजार निर्माणसम्बन्धी दुई महिने तालिम सुरु गरेको छ ।
राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीको आयोजनामा सुरु भएको तालिमको साेमबार वडा नं. ३ का अध्यक्ष उमेश अधिकारीले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीले परम्परागत आरन पेशा लोप हुने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै युवाहरूमा यो पेशाप्रति घट्दो रुचि पुनः जागृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल एकीकरणमा खुकुरीको ऐतिहासिक महत्त्वको चर्चा गर्दै अध्यक्ष अधिकारीले राप्तीलाई चिनाउने गरी विभिन्न प्रकारका खुकुरी निर्माण गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले तालिमपछि व्यावसायिक रुपमा अगाडि बढ्न सहभागीहरूलाई प्रेरित गर्दै उत्पादित सामग्रीको बजारीकरणमा वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रणबहादुर पुजारी, वडा नं. ८ का सदस्य भानु विक, दलित अगुवा रङ्गबहादुर सुनुवारलगायतले आरन पेशा संरक्षणमा पालिकाले गरेको पहलको प्रशंसा गर्दै आगामी दिनमा थप यस्ता तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं. २ का सदस्य तुल्सा विक, घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्योधन पाण्डे, पत्रकार ओमप्रकाश गुप्ता लगायतकाे उपस्थिति रहेको थियो ।
सञ्जालका अध्यक्ष ठगेन्द्र परिवारको अध्यक्षतामा तथा सल्लाहकार इन्द्रजित गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रामकृष्ण सुन्दासले गर्नुभएको थियो ।
नाै जना प्रशिक्षार्थीहरु सहभागी रहेकाे तालिमकाे प्रशिक्षकमा विष्णु रसायली रहनुभएको छ ।











