बुधबार, कार्तिक २०, २०८२

ह्यान्डिल भाँचिए पनि हिम्मत नहारेका वीर बहादुर, गाउँपालिकाका कर्मचारीहरूले दिए नयाँ साइकल

भालुबाङ २९ फागुन । राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा आयोजित साइकल दौड प्रतियोगितामा वडा नम्बर २ का वीर बहादुर कुमालले तृतीय स्थान हासिल गर्नुभयो । उहाँको त्यो जित साधारण थिएन, किनभने उहाँ पहिल्यै ह्यान्डिल भाँचिएको पुरानो साइकल लिएर प्रतिस्पर्धामा उत्रिनु भएको थियो। साधन कमजोर थियो, तर आत्मबल बलियो ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजार्ने वीर बहादुरसँग राम्रो साइकल किन्ने आर्थिक अवस्था थिएन । तर साइकल दौडमा भाग लिने उहाँको चाहना गहिरो थियो । त्यसैले आफ्नो पुरानो, भाँचिएको ह्यान्डिल भएको साइकल लिएर उहाँ मैदानमा उत्रिनु भयो । दौड सुरु भयो, प्रतिस्पर्धा कडा थियो, तर उहाँले हिम्मत हार्नु भएन । साइकल चलाउन असहज थियो, तर उहाँ आफ्नो लक्ष्यप्रति अडिग रहनु भयो । अन्ततः उहाँले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्नुभयो। पुरस्कारस्वरूप ३ हजार ५ सय नगद र प्रमाणपत्र पाउनुभयाे ।

तर वीर बहादुरका लागि सबैभन्दा ठूलो उपहार त प्रतिस्पर्धा सकिएपछि आयो । उहाँको मेहनत र संघर्ष देखेर गाउँपालिकाका कर्मचारीहरू भावुक हुनुभयो । इन्जिनियर अशोक बेल्वासेले सहकर्मीहरूसँग सल्लाह गरेर उहाँलाई नयाँ साइकल किनिदिने निर्णय गर्नुभयाे । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले विशेष समारोहमा वीर बहादुरलाई नयाँ साइकल हस्तान्तरण गर्नुभयाे ।

नयाँ साइकल हातमा पर्दा वीर बहादुरको अनुहारमा चमक छायो । अब उहाँले अझ आत्मविश्वासका साथ अर्को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अठोट गर्नुभयाे । उहाँ भन्नुहुन्छ, “अब अर्को दौडमा पहिलो स्थान ल्याउनेछु, साईकल प्रदान गर्नुभएकोमा सबैलाई धन्यवाद ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation