बुधबार, कार्तिक २०, २०८२

खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बानाएर ६.६ रेक्टरको भूकम्प

बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँपालिकाहरूका अधिकांश घरहरू चर्किएका छन् । दुई दर्जनभन्दा बढी घरहरू बस्न अयोग्य भएका छन् । केन्द्र बिन्दु भएको ठाउँ नजिकै भएकाले बढी क्षति खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा पुगेको बताइएको छ । अन्य गाउँपालिकाका घरमा समेत क्षति गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अबस्थीले बताउनुभयो ।

प्रहरीकहाँ मुचुल्का बनाउने मान्छे आइरहेकाले जिल्लामा कति घरमा क्षति भयो भन्ने आधिकारिक तथ्याङ्क आउन एक दिन लाग्ने उहाँले बताउनुभयो । “जिल्लाको खप्तडछान्ना गाउँपालिकाका ७० प्रतिशत घरहरू चर्किएका छन्” गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीहरूलाई गाउँमा खटाई क्षतिको विवरण लिने काम भइरहेको छ, एक दिनपछि क्षतिको विवरण आउँछ ।”

कमजोर संरचना भएका पुराना अधिकांश घरहरू चर्किएको खबर स्थानीयबाट आइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लाभरी अधिकांश विद्यालय, स्वास्थ्य चौकी, लघु विद्युतका भवनलगायतका सरकारी संरचनामा समेत क्षति पुगेको उहाँको भनाइ छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका जयपृथ्बी नगरपालिकामा समेत क्षति भएको स्थानीयले बताएका छन् ।

२०५३ पुस २१ गते दिउँसो २ बजेर ३२ मिनेट जाँदा बैतडी केन्द्र विन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पबाट मानवीय क्षति नभएको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation