देउखुरी ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याउने नीति तथा कार्यक्रम कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताउनु भएको छ । राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशन एवम् स्मारिका विमोचन कार्यक्रमलाई आज शनिबार दाङ-देउखुरीको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको स्पष्ट पार्नुभयो ।
`हामीले ल्याउँदै गरेकाे नीति तथा कार्यक्रममा कृषिमा संलग्न उद्यमीहरूलाई अझ प्रेरणा प्रदान गर्ने र सहयोग गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएका छन´ उहाँले भन्नुभयो `तपाईंहरूको भावना बुझेर, भावना छुनेगरी योजनालाई कार्यक्रममार्फत कार्यान्वयन गर्दैछौं । उद्यमीहरूका निम्ति पनि उद्यमीमैत्री कार्यक्रमहरू अघि बढाउने सोच र लक्ष्यसहित काम गरिरहेका छौं ।´
मुख्यमन्त्री आचार्यले व्यवसायी तथा उद्यमीहरूसँग प्रदेश सरकार सधैं साथमा रहेको बताउँदै उच्च मनोबलका साथ व्यवसायमा दत्तचित्त भएर अघि बढ्न आह्वान गर्नुभयो । उहाँले आधारभूत वर्गलाई उत्पादन कार्यसँग नजोडिएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पार्दै स्थानीय उत्पादन बढाउन र त्यसमा आधारभूत वर्गको अनिवार्य सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
`हामी उत्पादन कार्यसित नजोडिएसम्म मुलुकको विकास सम्भव छैन । गाउँको विकास पनि सम्भव छैन । यो कुरा सरकारले राम्रोसँग बुझेको छ´ मुख्यमन्त्री आचार्यले भन्नुभयो`हाम्रा आधारभूत तहका जनताको जीवनस्तर माथि उठाएनौं भने मुलुकको समग्र विकास सम्भव छैन ।´ व्यवसायमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले भूमिका बढाएको उल्लेख गर्दै उहाँले व्यवसायकाे विकासका लागि बनाइएका कानुन, नीति, नियम, कार्यविधिहरू बाधक भएमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिनुभयो ।
प्रदेश राजधानी क्षेत्रको विकासका निम्ति वर्तमान सरकार गम्भीर रहेको र लगानीको खोजी भइरहेको जानकारी दिँदै उहाँले अनावश्यक हल्ला, भ्रम र कुप्रचार फैलाउनेभन्दा राजधानी निर्माणमा हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले समस्याहरूलाई राम्रोसँग बुझेको र त्यसको समाधानका लागि गम्भीर भएर काम अघि बढाइएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथीकाे आसनबाट बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि र उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताउनुभयो । उहाँले अब तीन वटै सरकारकाे ध्यान कृषि, उद्यम र राेजगारी सिर्जना गर्ने गरि अघि बढ्नु पर्ने बताउनुभयाे । उहाँ राजधानी क्षेत्रकाे जग्गा पूर्ण रूपमा खुल्ला गरेर नागरिकलाई जीवनयापन गर्न सहज बनाउन प्रदेश सरकार संग आग्रह गर्नुभयाे । उहाँले लामाे समय सम्म जनताकाे जग्गा राेक्का गरेर मात्र समाधान नहुने बताउँदै राजधानी व्यवस्थापनकाे काम र कित्ताकाँट खुल्ला गर्न आग्रह समेत गर्नुभयाे ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले स्थानीय उत्पादनको बजारीकरणका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै प्रदेश राजधानी क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन निजी क्षेत्रले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ स्वदेशी तथा विदेश लगानीकाे वातावरण सरकारले तयार गर्नुपर्ने बताउनुभयाे । निजी क्षेत्रकाे लगानी विना मुलुक समृद्ध बन्न नसक्ने जिकिर समेत गर्नुभयाे ।
राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल शर्मा बेल्वासेकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जाजरकाेट भुकम्प पिडितका लागि राहत संकलन तथा बितरणमा महत्त्वपूर्ण याेजना पुर्याएकाे भन्दै देउखुरी टुडे डटकम सहित अन्य राहत संकलन अगुवाहरूलाई सम्मान गरिएकाे थियाे । त्यस्तै राप्ती गाउँपालिकाका ९ वटै वडाका कृषि र उद्यम लगायतका क्षेत्रमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा संस्था र जाजरकोट भुकम्प पिडितलाई राहत प्रदान गर्न राहत संकलनकर्ता र स्मारिका प्रकाशनमा सहयोग गर्ने विज्ञापनदातालाई सम्मान गरिएको थियाे ।
कर्मशका उपाध्यक्ष श्यामा रावतकाे स्वागत मन्तव्यबाट शुरू भएकाे साधारणसभा तथा अधिवेशन कर्मशका महासचिव बसन्त कँवरले बार्षिक प्रतिवेदन र काेषाध्यक्ष अर्जुनकुमार क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । साे अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति र सडक नाटक समेत प्रस्तुत गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन महिला चेम्बरका सचिव राधा पाण्डे र प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गर्नु भएकाे थियाे ।
यसैबीच आजै सम्पन्न भएकाे अधिवेशनले बसन्त कुवर क्षेत्रीकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिती निर्विराेध निर्वाचित भएकाे छ । जसको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी, दोस्रो उपाध्यक्षमा लक्ष्मी पोख्रेल, महासचिवमा खेमराज अर्याल, कोषाध्यक्षमा अर्जुनकुमार क्षेत्री, सचिवमा गोविन्दबहादुर केसी र सह-कोषाध्यक्षमा बालनन्दा आचार्य निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मोतिराम भट्टराई, अरुण केसी, कमल केसी, बालकृष्ण पोख्रेल, प्रेमलाल चौधरी, गणेशकुमार चौधरी, धनीराम चौधरी, मेनका पौडेल, कल्पना पुन र रेकम शर्मा निर्विराेध निर्वाचित हुनु भएकाे छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई चेम्बरका कानुनी सल्लाहकार तथा निर्वाचन समितिका संयोजक एवं अधिवक्ता हरि बेलबासेले शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।











