भालुवाङ । नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्रले कार्यकारी राष्ट्रपतीय प्रणाली स्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
सो पार्टीका संविधान संशोधनको पनि माग गरेको छ । केन्द्रीय संयोजक राजकुमार कक्षपति, अध्यक्ष मुकुन्दराज रोका, महासचिव अर्जुन अधिकारी, नेतृ लक्ष्मी गिरी लगायतको प्रतिनिधिमण्डलले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले देशको राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधान माथि भइरहेको विविध खतराको विरुद्धमा आवाज उठाउँदै १९ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा हालको संवैधानिक र राजनीतिक अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय हित र जनताको अधिकार सुनिश्चित गर्न तत्कालीन कदम चाल्न सरकारलाई आग्रह गरिएको छ । पार्टीले विभिन्न जनपक्षीय मुद्दाहरूलाई समेट्दै नीति तथा कार्यनीति पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीका नेताहरूले राष्ट्रियता र संविधानको रक्षा गर्दै जनमुखी शासन प्रणाली निर्माणका लागि सशक्त पहल आवश्यक रहेको स्पष्ट पारेका छन् ।












