शुक्रबार, चैत्र ६, २०८२

राप्ती गाउँपालिका स्तरीय खोप समन्वय समितिकाे बैठक सम्पन्न

भालुबाङ ११ जेठ । दाङको राप्ती गाउँपालिका स्तरीय खोप समन्वय समितिको बैठक आइतबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा पाँच वर्षमुनिका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन, खोप छुट भएका बालबालिकाको पहिचान तथा सेवा सुनिश्चित गर्न गरिएको सर्भेक्षणमा कुनै पनि बालबालिका छुटेको नदेखिएको जानकारी दिँदै जिल्ला खोप समन्वय समितिमा प्रमाणिकरणका लागि अनुरोध गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, वडास्तरमा सम्पन्न खोप कार्यक्रमको समीक्षा गर्दै, पूर्ण खोप घोषणा कार्यक्रम यही जेठ १३ गते राप्ती गाउँपालिकाको सभा हलमा आयोजना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष विष्टले नियमित खोप कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो । उहाँले पालिकाले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ काम भइरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष विष्टले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ वडा खोप समन्वय समितिहरू, स्वास्थ्य संस्था र समुदायबीच अझ सशक्त समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । साथै, कार्यक्रमको सफल कार्यान्वयनका लागि अभिभावकहरूको सक्रिय सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

उक्त बैठकमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, सरकारी स्वास्थ्य संस्थाका प्रमुखहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation