सोमवार, कार्तिक १८, २०८२

दाङ जिल्ला अदालतका न्यायाधीशद्वारा राप्ती गाउँपालिकाको न्यायिक समितिकाे अनुगमन

मसुरिया २७ असार । दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश राेमाकान्त ज्ञवाली नेतृत्वकाे एक टोलीले शुक्रबार राप्ती गाउँपालिकाको न्यायिक समितिको अनुगमन गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको प्रभावकारी कार्यान्वयनमार्फत न्यायिक समितिले स्थानीय स्तरमै जनतालाई न्याय दिन सक्ने उल्लेख गर्दै न्यायाधीश ज्ञवालीले समितिलाई जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिनुभयो । उहाँले न्यायिक समितिलाई जनताको नजिकको अदालतको रूपमा व्याख्या गर्दै असल नियतका साथ काम गरेमा न्यायको अनुभूति गराउन सकिने धारणा राख्नुभयो ।

अनुगमनका क्रममा उहाँले राप्ती गाउँपालिकामा न्याय प्रवाहलाई अझ प्रभावकारी बनाउन अदालतको तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोलीले न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको अवस्था, ईजलास कक्ष, अभिलेख व्यवस्थापन लगायतका पक्षहरूको अवलोकनसमेत गरेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कमलापति चौधरीले हालसम्मको कार्यान्वयन स्थिति, चुनौती र सुधारको आवश्यकताबारे जानकारी दिनुभयो । साथै, न्यायाधीश ज्ञवालीले समितिलाई थप सशक्त बनाउन कानुनी सल्लाह तथा मार्गनिर्देशन दिनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहको न्यायिक समिति जनताकाे नजिकको न्यायिक संयन्त्र भएको उल्लेख गर्दै यसको प्रभावकारिता बढाउन एक आपसमा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले जनताको समस्यालाई स्थानीय तहमै छिटो र सरल रूपमा समाधान गर्ने प्रयास गरिरहेकाे उल्लेख गर्दै न्यायिक समितिमा आएका उजुरीहरूको निष्पक्ष र यथासम्भव मेलमिलापमार्फत टुंगो लगाउने अभ्यासलाई अझ संस्थागत बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास विक,न्यायिक समिति सदस्यहरू गोबिन्द कुँवर क्षेत्री, ईश्वरी परियार, अदालतका अधिकृत प्रतिमा पुन,नायब सुब्बा राम बहादुर बुढा,पालिकाका उजुरी प्रशासक सुभास भट्टराई लगायत मेलमिलापकर्ताहरुकाे उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation