सोमवार, कार्तिक १८, २०८२

साउने संक्रान्ति : नेपाली संस्कृति, परम्परा र पहिचानको प्रतिक

नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साँझा फूलबारी हो । प्रत्येक चार्डपर्व, रीतिथिति जनजीवनसँग जोडिएका छन् । ती पर्वहरु मध्ये साउने संक्रान्ति पनि एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक चाड हो, जसले विशेष गरी हिन्दू धर्मावलम्बीहरूको जीवनशैली, आस्था र सामाजिक सम्बन्धलाई उजागर गर्छ । साउन महिनाको पहिलो दिन परेको यो पर्व केवल एक दिनको उत्सव होइन, यसले एक महिना लामो आध्यात्मिक यात्रा र सामाजिक चेतनाको थालनी गर्दछ ।

साउने संक्रान्ति के हो ?

संक्रान्ति भन्नाले सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेको दिनलाई जनाउँछ । एक वर्षमा १२ वटा संक्रान्तिहरू पर्दछन्, जसमध्ये साउन महिनामा पर्ने संक्रान्तिलाई “साउने संक्रान्ति“ भनिन्छ । विशेषतः सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने यो दिन हिन्दू पंचाङ्गअनुसार साउन महिनाको आरम्भ हो । नेपाल लगायत भारतका विभिन्न भागमा यो दिनलाई निकै श्रद्धा, भक्ति र उत्साहका साथ मनाइन्छ । यो दिनले साउन महिनाको आधिकारिक आरम्भ गर्छ, जसलाई ’शिवको महिना’ भनिन्छ । शिवभक्तहरूले यस महिनाभर विशेष पूजाआजा, व्रत, रुद्राभिषेक, दान, ब्रह्मचर्य पालन आदि गर्छन् । त्यसैले साउने संक्रान्ति केवल दिन विशेष नभई धार्मिक र सांस्कृतिक महिनाको सुरुवात हो ।

धार्मिक महत्व :

साउने संक्रान्ति विशेषतः भगवान शिवसँग जोडिएको पर्व हो । पुराण अनुसार, साउन महिनामा समुद्र मन्थन हुँदा निस्किएको विष निलेर भगवान शिवले सम्पूर्ण सृष्टि जोगाए भन्ने विश्वास छ । यसै कारण यो महिनामा शिवको आराधना गर्दा विशेष फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ । साउने संक्रान्तिमा नदी, पोखरी, तलाउमा स्नान गर्ने, व्रत बस्ने, शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, दानपुण्य गर्ने कार्य अत्यन्त पुण्यदायी मानिन्छ । महिलाहरूले यो दिनदेखि सोमबारको व्रत बस्न सुरु गर्छन्, जसमा पतिको दीर्घायु र पारिवारिक सुखको कामना गरिन्छ । अविवाहित युवतीहरूले योग्य वर प्राप्तिको लागि शिव पूजा सहितको व्रत लिन्छन् । पुरुषहरूले पनि ब्रह्मचर्य पालन, सात्विक जीवनशैली र आत्मानुशासनको अभ्यास गर्छन् ।

स्वास्थ्य र आयुर्वेदसँग सम्बन्ध :

साउने संक्रान्तिको समय मौसम परिवर्तनको संकेत हो । आषाढको अन्त्य र साउनको सुरुमा वर्षा अत्यधिक हुने गर्दछ । यस्तो आद्र्र मौसममा रोगहरू, विशेषतः पाचन सम्बन्धी समस्या, संक्रमण, ज्वरो, चर्मरोग आदि बढ्ने सम्भावना रहन्छ । त्यसैले परम्परागत रूपमा यो दिनदेखि मानिसहरूले आयुर्वेदीय र स्वस्थ जीवनशैली अपनाउने गर्दछन् ।

यो दिनको भोजनमा विशेष ध्यान दिइन्छ । विशेषतः गेडागुडी, खिर, गुड, तरुल, हल्का खाना खाने चलन छ, जसले पाचन शक्ति बलियो बनाउने विश्वास गरिन्छ । तातो खाजाहरू, कम मसलायुक्त खानेकुरा, दुधजन्य पदार्थ र मौसमी फलफूल सेवन गरिन्छ । साउने संक्रान्तिका परिकारहरू स्वाद मात्र नभई स्वास्थ्यका दृष्टिले समेत लाभदायक छन् ।

सामाजिक र सांस्कृतिक पक्ष :

साउने संक्रान्तिले सामाजिक एकता, मेलमिलाप र सम्वादको अवसर प्रदान गर्छ । यो दिन परिवारभित्र र समुदायबीच आत्मीयता, सद्भाव र समर्पण झल्कने क्रियाकलापहरू गरिन्छ । विशेष गरी महिलाहरूका लागि यो पर्व रमाइलो, श्रृंगार, व्रत र भक्ति प्रकट गर्ने माध्यम हो । उनीहरू हरियो चुरा, पहेंलो सारी, मेहन्दी र श्रृंगार सामग्रीले सजिएर मन्दिर जाने, कथा सुन्ने, भजन गाउने लगायतका कार्यहरू गर्छन् । साउने संक्रान्तिबाट तीज पर्वको तयारी पनि सुरु हुन्छ । तीज गीतहरू बज्न थाल्छन्, चेलीबेटीहरू सँगै भेला हुने, रमाउने, घरपरिवारसँगको सम्बन्ध बलियो बनाउने अवसर पनि यही पर्वले दिन्छ । यस दिन माइती घरबाट चेलीहरूलाई बोलाउने चलन अझै पनि केही समुदायमा प्रचलनमा छ । चेलीहरूलाई परिकार बनाएर खुवाउने, कपडा, चुरा, मेहन्दी दिने कार्यले सामाजिक र पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउँछ ।

विभिन्न भेगका परम्परागत रीतिथिति :

नेपालका विभिन्न भूभागमा साउने संक्रान्तिको भिन्न–भिन्न शैलीमा गरिन्छ ।
तराई भेगमा खीर, तरुल, घ्यू, गुड र गेडागुडीका व्यञ्जन खाने परम्परा छ । यस दिन महिलाहरू नयाँ लुगा, चुरा लगाएर शिव मन्दिर जान्छन् ।

पहाडी क्षेत्रमा यस दिन नदी र पोखरीमा स्नान गर्ने चलन बढी देखिन्छ । घरमा विशेष पूजा गरी पारिवारिक भोजको आयोजना गरिन्छ ।

शहरी क्षेत्रमा साउने संक्रान्तिलाई फेसन र सांस्कृतिक उत्सवका रूपमा पनि मनाउन थालिएको छ । महिलाहरू समूह बनाएर मन्दिर जानु, पूजा गर्नु र सामाजिक सञ्जालमा तस्बिरहरू साझा गर्नु चलनमा छ ।

वर्तमान अवस्था र परिवर्तित रूप :

विगतका वर्षहरूमा जस्तो साउने संक्रान्तिको धार्मिकता अहिलेको पुस्ताले पूर्ण रूपमा अनुभव गर्न सकेको पाइँदैन । विशेष गरी शहरी क्षेत्रमा यो पर्व केही हदसम्म बाहिरी प्रदर्शनमा सीमित हुँदै गएको देखिन्छ । धार्मिक गहिराइभन्दा पनि लुगा, श्रृंगार र तस्बिरहरूमा ध्यान बढी देखिन्छ ।

तर, सकारात्मक पक्ष पनि छ । विभिन्न मन्दिर र गुठी संस्थाहरूले साउने संक्रान्तिमा विशेष कार्यक्रम आयोजना गर्न थालेका छन् । सामाजिक सञ्जालमार्फत धार्मिक ज्ञान, व्रतकथा, गीत, भजन आदिको प्रचार भएको छ । यसले युवाहरूमा पनि परम्पराप्रति चासो जागेको संकेत दिन्छ ।

चुनौती र सम्भावना :

साउने संक्रान्तिलाई सही अर्थमा मनाउने परम्परा अहिलेको पुस्तामा विस्तार गर्नुपर्ने आवश्यकता छ । केवल चाडका रूपमा नभई जीवनशैली सुधार, स्वास्थ्य सुरक्षा, सामाजिक एकता र धार्मिक चेतनाको पर्वका रूपमा यसलाई बुझ्न आवश्यक छ । शिक्षण संस्थाहरू, मिडिया, समाजसेवी संस्थाहरूले साउने संक्रान्तिको महत्वबारे जनचेतना फैलाउने काम गरेमा यसको सांस्कृतिक मूल्य अझ गहिरो बन्न सक्छ । साथै, पर्यटनको दृष्टिकोणले पनि साउने संक्रान्ति मनाइने क्षेत्रहरूमा स्थानीय संस्कृति र चाडको प्रचार गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation