राप्ती आधारभूत अस्पतालप्रति जनविश्वास बढ्दै, ७ महिनामा १९ हजारभन्दा बढीले सेवा लिए

सिसहनियाँ २६ साउन । दाङको राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालले पछिल्लो समय सेवा, पूर्वाधार, व्यवस्थापन र दक्ष चिकित्सकको उपलब्धतामा उल्लेखनीय सुधार गर्दै जनताको विश्वास जित्न सफल भएको छ ।

अस्पताल प्रशासनका अनुसार पछिल्ला केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा उल्लेखनीय प्रगति भएको छ ।

मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. श्रवण चौधरीका अनुसार सेवा सुरु भएको सात महिनामै दैनिक डेढ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
“हाल २४ सैं घण्टा आपतकालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्स–रे,फार्मेसी, अन्तरङ्ग,प्रसुती सेवा लगायतका सुविधा नियमित सञ्चालनमा छन्,” डा. चौधरीले भन्नुभयो, “स्थानीय जनताको अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन हामी पूर्णरूपमा प्रतिबद्ध छौँ ।”

एमडी जिपी डा. हरि पाण्डेका अनुसार पछिल्लो समय अस्पतालबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकाले बाहिर रिफर हुने बिरामीको संख्या घटेको छ ।
“अत्यन्त जटिल केस बाहेक अधिकांश बिरामी यहीँ भर्ना गरेर उपचार गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “पर्याप्त उपकरण र स्रोतसाधन भए यहीँ शल्यक्रिया सेवा समेत सुरु गर्न सकिन्छ ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती आधारभूत अस्पताललाई गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न गाउँपालिका निरन्तर प्रयत्नशील रहेको बताउनुभयो ।

“जनताको विश्वास जित्नु नै अस्पतालको प्रमुख उपलब्धि हो,” उहाँले भन्नुभयो, “अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन थप योजना अघि बढाइरहेका छौँ ।”

अस्पतालका प्रशासन प्रमुख धनबहादुर खड्काका अनुसार ७ महिनामा मात्रै १९ हजार १ सय २ जनाले सेवा लिइसकेका छन् । उहाँका अनुसार संरचनागत सुधार, कर्मचारी व्यवस्थापन र उपकरण अभावको समाधानका लागि निरन्तर पहल भइरहेको छ ।

सेवाग्राहीहरूले अस्पतालको व्यवस्थापन, सेवा र पहुँचमा आएको सुधारले सन्तुष्टि मिलेको बताएका छन् । “पहिला सामान्य उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो, अहिले आवश्यक सेवा राप्ती आधारभूत अस्पतालमै सहज रूपमा पाइन्छ,” सेवाग्राही देबिराम ओलीले भन्नुभयो ।

हाल अस्पतालमा दुई एमडी जिपी, चार मेडिकल अफिसरसहित ४१ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन्। साथै, प्रत्येक हप्ता बुटवलबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक आएर सेवा दिइरहेका छन् ।

यस क्षेत्रका सरोकारवालाहरूका अनुसार राप्ती आधारभूत अस्पतालले गाउँपालिका भित्रको स्वास्थ्य क्षेत्रमा नयाँ आशा र विश्वासको वातावरण सिर्जना गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation