राप्ती आधारभूत अस्पतालकाे सेवा सुधारबारे छलफल

सिसहनियाँ ३० भदौ । राप्ती गाउँपालिका–५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सेवा–सुविधा र गुणस्तर सुधारबारे सोमबार छलफल गरिएको छ ।

छलफलमा गाउँपालिका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य शाखा प्रमुख नारायण राउत, अस्पताल प्रशासन प्रमुख धनबहादुर खड्का, मेसु डा. हरि पाण्डेसहित चिकित्सकहरूको उपस्थिति थियो ।

बैठकमा अस्पतालले हाल प्रदान गर्दै आएको स्वास्थ्य सेवाको प्रभावकारिता, थप आवश्यक सेवा विस्तार, जनशक्ति व्यवस्थापन, उपकरणको अभावलगायत विषयमा छलफल गरिएको थियो । साथै, आपतकालीन कक्ष, एक्स–रे कक्षलगायत अस्पतालका विभिन्न शाखाहरूको स्थलगत अवलोकन पनि गरिएको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा, अनुशासन र मानवीय करुणालाई स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले बिरामीप्रति समान दृष्टि, सहानुभूति र आदरभाव राखी उपचार गर्न, आपतकालीन अवस्थालाई प्राथमिकता दिँदै समयमै गुणस्तरीय सेवा सुनिश्चित गर्न, औषधि, उपकरण र प्रयोगशालामा देखिएका कमी कमजोरी तत्काल पालिकासँग समन्वय गरी समाधान गर्न तथा सरसफाइ, जनस्वास्थ्य जागरण र रोग रोकथाममा विशेष ध्यान दिन सुझाव दिनुभयो ।

अध्यक्ष विष्टले नैतिकता र पेशागत मर्यादालाई केन्द्रमा राखी सेवाप्रति समर्पित रहन समेत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation