आइतवार, कार्तिक १७, २०८२

राप्ती गाउँपालिकामा विजया दशमीको शुभकामना आदानप्रदान

भालुबाङ १० असोज । दाङको राप्ती गाउँपालिकामा विजया दशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहित जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थितिमा आपसी शुभकामना आदानप्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विजया दशमी धार्मिक–सांस्कृतिक पर्व मात्र नभई एकता, सहयोग र सहकार्यको प्रेरणा दिने पर्व भएको बताउनुभयो । उहाँले चाडपर्वलाई भड्किलो र खर्चिलो रूपमा नभई आपसी सद्भाव, हर्ष–उल्लास र उमंगका साथ मनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले गाउँपालिकाको विकास र समृद्धिका लागि सबै मिलेर हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरीले विजया दशमी सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीक भएको भन्दै यस पर्वले सबैलाई नयाँ उमंग र हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले संस्कृतिको संरक्षणसँगै आधुनिक विकास यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले शुभकामना व्यक्त गर्दै गाउँपालिकाको प्रशासनिक कार्यलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विजया दशमीले आपसी विश्वास र एकताको वातावरणलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation