सोमवार, अशोज २७, २०८२

सरकारी सवारी होइन, आफ्नै स्कुटरमा जनसेवा गर्दै राप्तीका अध्यक्ष विष्ट

दाङ २० असोज । स्थानीय तहका प्रमुखहरू प्रायः सरकारी सवारी साधनमै आवतजावत गर्ने गर्छन् । तर दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट भने पछिल्लो समय यस चलन तोड्दै आफ्नै विद्युतीय स्कुटरमा गाउँपालिकाभित्रका सबै कार्यसम्पादन र जनसम्पर्कका गतिविधिहरू गर्दै आउनुभएको छ ।

गाउँपालिका बाहिरका लामो दूरीका यात्राबाहेक, पालिकाभित्रका बैठक, निरीक्षण, कार्यालयीय काम तथा जनभेटघाटजस्ता सबै गतिविधिमा उहाँ विद्युतीय स्कुटरमै पुग्ने गर्नुभएको छ । उहाँको यो कार्यशैलीले सादगी, मितव्ययिता र वातावरणमैत्री सोच बोकेको नेतृत्वको परिचय दिन थालेको छ ।

अध्यक्ष विष्टका अनुसार आर्थिक मितव्ययिता कायम गर्न, जनताको करको सम्मान गर्न र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न उहाँले विद्युतीय स्कुटर प्रयोग गर्न थाल्नुभएको हो ।

“पद ठूलो भएर होइन, सोच ठूलो भएर नेतृत्व महान् हुन्छ,” उहाँले भन्नुभयो, “जनताको करको सम्मान, वातावरणको सुरक्षा र सादगीपूर्ण जीवनशैली नै नयाँ युगको नेतृत्वको मार्ग हो। जनप्रतिनिधि देखावटी होइन, उदाहरणीय हुनुपर्छ। सानो प्रयासले पनि ठूलो परिवर्तनको सुरुवात गर्न सकिन्छ ।”

राप्ती गाउँपालिकाको अध्यक्षको यस्तो पहलले गाउँभित्रका अन्य जनप्रतिनिधि र कर्मचारीहरूलाई ऊर्जा-संवेदनशील, जिम्मेवार र व्यवहारिक नेतृत्वतर्फ प्रेरित गरेको स्थानीयवासीहरू बताउँछन् ।

स्थानीय तहका कार्यालयहरूमा खर्चिलो सवारी साधन र विलासी जीवनशैली देखिँदै आएको अवस्थामा अध्यक्ष विष्टको विद्युतीय स्कुटर यात्रा एउटा सकारात्मक सन्देश बनेको छ । उहाँको यो कार्यले नेतृत्व पद होइन, जीवनशैली र सोचको उदाहरण हो भन्ने कुरा थप स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation