मङ्लबार, कार्तिक २६, २०८२

राप्तीमा बुधबारदेखि बिहान ८ बजेदेखि नै मतदाता नामावली सेवा

मसुरिया २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आगामी कार्तिक २६ गते बुधबार देखि बिहान ८ बजेदेखि नै मतदाता नामावली सम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ ।

सेवाग्राहीको चाप र दिउँसो सर्भरमा देखिने प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा सुरु गर्न लागिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता नामावली दर्ता, विवरणका त्रुटि सच्याउने, झुट्टा विवरणको उजुरी दर्ता, दोहोरो नाम हटाउने तथा मतदाता नामावली सार्ने काम नियमित रूपमा सञ्चालन गरिरहेको छ ।

मतदाता नामावली दर्ताका लागि नागरिकता प्रमाणपत्र अनिवार्य रहनेछ । त्यस्तै नामावली सार्दा बसाइँसराई प्रमाणपत्र आवश्यक हुनेछ भने विवाहपछि नामावली सार्नुपर्ने अवस्थामा विवाह दर्ता र श्रीमानको नागरिकता आवश्यक पर्ने जनाइएको छ ।

नामावलीमा नयाँ दर्ता हुनेहरूले बायोमेट्रिकका लागि जिल्ला निर्वाचन कार्यालय, घोराहीमा उपस्थित हुनुपर्नेछ । भने अन्य अद्यावधिक तथा सच्याउने सम्वन्धी काम भने गाउँपालिकामै हुने गुरुङले बताउनुभयो ।

“नागरिकलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्यले बिहानैदेखि सेवा सुरु गर्न लागेका हौँ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न बाँकी रहेका नागरिकलाई कार्तिक ३० गतेभित्र गाउँपालिकामा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation