राजधानी व्यवस्थापन, राप्ती गाउँपालिका क्षेत्रमा कोठा भाडा तोकियो

देउखुरी । राप्ती गाउँपालिकाले भाडामा दिने कोठाको मुल्य तोकेको छ । कार्यपालिका बैठक मार्फत कोठा भाडा निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो ।

राजधानी क्षेत्रमा आउने प्रदेश सभा सदस्य तथा कर्मचारीहरुले कोठा भाडामा लिनु परेमा सहुलियत मुल्यमा कोठा भाडामा दिनेगरी निर्णय गरेको छ । अटेचसहितको राम्रो कोठा भाडामा कर बाहेक मासिक तीन हजार, मध्यमलाई दुई हजार ८ सय, सामान्य कोठालाई दुई हजार दुई मुल्य तोकेको हो ।

पालिकाले यो भन्दा बढी मुल्यमा कोठा भाडामा नलगाउन अनुरोध गरेको छ । राजधानी कार्यान्वयन संगै राजधानी क्षेत्रको सडक सौन्दर्यता बढाउन गाउँपालिकाले अपिल गरेको छ । सरसफाई तथा सौन्दर्यकरण अभियान समेत चलाइएको छ ।

प्रमुख राजमार्ग, सहायक राजमार्गहरुको दायाँबाँया दुवै तर्फ सरसफाई तथा सौन्दर्यकरण गर्न सबै राजनीतिक दल, भातृ संगठन, सामाजिक संघ संस्था तथा आम राजधानीबासीलाई अपिल गरिएको छ ।‘राजधानीमा आउने पाहुनाको स्वागत सत्कारको लागी मित्रवत व्यवहार अपरिहार्य छ’अध्यक्ष बिष्टले भन्नुभयो,‘उद्योगी, व्यवसायी, होटल व्यवसायी लगायत आम सर्वसाधरण यस महान अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।’ राजधानी क्षेत्र परिसर भित्र मुख्यमन्त्री कुलप्रसाद केसीले व्यवस्थापनको नेतृत्व सम्हाल्नु भएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय परिसरमा केसीले घाँस काटेर सरसफाई अभियानको सुरुवात गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation