कत्ति पनि नडराइ हात्तीपाइलेको औषधि खाऔं : गढवा गाउँपालिका अध्यक्ष पोख्रेल

दाङ । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बिश्वासले कत्ति पनि नडराइ हात्तीपाइले बिरुद्धको औषधि सेवन गर्न सबैमा अनुरोध गर्नुभएको छ ।

हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को गढवामा शुभारम्भ गर्दै पालिका अध्यक्ष पोख्रेलले यस्तो भन्नुभएको हो, ‘हात्तीपाइले रोग बिरुद्धको औषधिले मानव स्वास्थ्यमा असर गर्छ भन्ने भ्रमबाट मुक्त भई निर्धक्कसँग औषधि सेवन गरौं । यो रोगको उन्मुलनको एकमात्र उपाय औषधि सेवन नै भएकाले औषधि सेवन अभियानमा कोही छुट्नु हुँदैन ।’ अध्यक्ष पोख्रेलले भन्नु भयो ।

लुम्बिनी प्रदेशमा दाङ उच्च जोखिममा रहेको भन्दै अध्यक्ष पोख्रेलले हात्तीपाइले रोगमुक्त पालिका बनाउने अभियानमा पालिकाबासीहरू जुट्न आवश्यक रहेको बताउनुभयो ।

हात्तीपाइले रोगको उन्मुलनका लागि सबैको सहकार्य अनिर्वाय रहेको भन्दै गाउँघरमा हात्तीपाईले रोग निवारणका लागि खुवाइने औषधी सम्बन्धी भएको भ्रमलाई तोड्नै आवश्यक रहेको बताउनुभयो ।

गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाभरमा औषधी खुवाउने ठाउँको तालिका यस अघि नै सार्वजनिक गरि सकेको छ । फाल्गुन ११ गते देखी सुरुवात गरिएको हात्तीपाईले रोग निवारणका लागि महा अभियानको फागुन १२ गते देखि घरदैलो रुपमा स्वास्थ्यकर्मी सहितको टोली जाने गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरू, सिकिस्त बिरामीहरू, ओछ्यानबाट उठ्न कठिन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका डायलाइसिस जस्ता चिकित्सा विधिहरूमा जीवन निर्भर हुने बिरामीहरूले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नहुने डाक्टरहरुको अनुरोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation