सोमवार, कार्तिक १८, २०८२

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका जिल्लामै उत्कृष्ट घोषित

देउखुरी । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिका मध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार घाेराहीमा  एक कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै प्रमाण पत्र प्रदान गरिएको छ ।                                                                                                   

खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रमसहित १६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । यस्तै, जिल्लाको गढवा गाउँपालिका दोश्रो, तुलसीपुर उपमहानगरपालिका तेश्रो र बंगलाचुली गाउँपालिका चौथो भएको छ ।

उत्कृष्ट भएका पालिकालाई घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा लगायतले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य कार्यक्रम गरेको कामको मुल्यांकन गर्न स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरत कवरको संयोजकत्वमा गठित ४ सदस्यीय टोलीले उत्कृष्टता घोषणा गरेको हो ।

जिल्लामा संचालित प्रमुख जनस्वास्थ्यका कार्यक्रम समेटी विभिन्न १६ वटा सूचकलाई आधार बनाएर कामको आधारमा प्राप्त गरेको अंकलाई मान्यता दिँदै १० वटै पालिकाको क्रम निर्धारण गरिएको हो । जस अनुसार, पाँचौँमा राजपुर गाउँपालिका, छैठौँमा घोराही उपमहानगरपालिका, सातौँमा शान्तिनगर गाउँपालिका, आठौँमा लमही नगरपालिका, नवौँमा बबई गाउँपालिका र अन्तिममा दंगीशरण गाउँपालिका रहेको छ ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation