बिहिबार, माघ २३, २०८२

जग्गा फुकुवा संघर्ष समितिद्वारा लुम्बिनी प्रदेश मुलगेट अगाडी धर्ना तथा प्रदर्शन

भालुवाङ १८ भदाै  जग्गा फुकुवा संघर्ष समितिले जग्गा फुकुवाको माग राखि मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना सँगै प्रदर्शन गरेका छन् ।

संघर्ष समितिले सोमबार लुम्बिनी प्रदेश मुल गेट अगाडि धर्ना दिनुका साथै प्रदर्शन गरेका हुन् । उनीहरूले विहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म २ घण्टा धर्ना दिएका थिए ।

जग्गा फुकुवाका लागि पटक पटक माग गर्दा पनि प्रदेश सरकारले वास्ता नगरेपछि सडकमा उत्रिनुपरेको संघर्ष समितिका अध्यक्ष सुरज खड्काले बताए। लुम्बिनी सरकारले जेठभित्रै जग्गा फुकुवा गर्ने आश्वासन दिएको थियो । तर, अहिलेसम्म जग्गा फुकुवाको निर्णय नभएपछि आन्दोलन गर्नुपरेको खड्काले बताए ।

“सरकारले आश्वासन मात्रै दियो, निर्णय गरेन,” उनले भने, “निर्णायक आन्दोलनमा उत्रिएका छौं। तत्काल माग पूरा नभए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्छौं।” लुम्बिनी प्रदेशको राजधानी तोकिएसँगै राप्ती उपत्यका क्षेत्रको जग्गा बिक्री-वितरणमा रोक लगाइएको थियो ।

प्रदेश सरकारले दाङको राप्ती गाउँपालिका सहित गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गाको कित्ताकाट र किनबेच रोक्का गर्ने निर्णय गरेको थियो ।

अहिले प्रदेश राजधानी नै राप्ती उपत्यकामा सारिसकिएको छ तर सरकारले जग्गा फुकुवा गरेको छैन । जग्गा किनबेचमा रोक लागेका कारण समस्या भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जग्गा फुकुवाका लागि आवश्यक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्‍मा पठाएको बताए। राजधानी क्षेत्रमा एक कट्ठाभन्दा थोरै जग्गा कित्ताकाट गर्न नपाइने राय सहितको प्रतिवेदन बुझाइएको पोखरेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation