बिहिबार, माघ २३, २०८२

मावि रुपाकाेटका विपन्न विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको पाेशाक तथा शैक्षिक सामाग्री वितरण

दाङ २१ मंसिर । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ९ मा रहेको माध्यमिक विद्यालय रुपकाेटका २ सय ८५ जना विपन्न विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको विद्यालय पाेशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।

संस्थाले राप्ती गाउँपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखा सँगकाे समन्वयमा बिहीबार साे सामाग्री वितरण गरेको हाे ।

संस्थाले उक्त विद्यालयमा बाल विकास देखि दस कक्षा सम्म अध्यनरत १ सय २६ जना विद्यार्थीलाई विद्यालय पाेशाक र न्यानो कपडा वितरण गरेको छ भने २ सय ८५ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ६/६ वटा कापी, ५/५ वटा कलम र १/१ दर्जन पेन्सिल वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलु सिङ्जाली मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा उक्त सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हाे ।

साे कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले विपन्नताकै कारण कुनै पनि विद्यार्थी पठनपाठन बाट बन्चित हुनु नपर्ने बताउनुभयो ।

प्राय पहाडी क्षेत्रका विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरु विपन्न परिवारका हुने भन्दै अध्यक्ष विष्टले त्यस्ता विद्यार्थीहरुलाई पठनपाठनमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले सिपी संस्थाले प्रदान गरेको शैक्षिक सामाग्रीले विपन्न विद्यार्थीहरुकाे पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले गाउँपालिकामा संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सहयोगकाे उच्च प्रसंसा गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, संस्थाका निर्देशक दिनेश राज सापकोटा, राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य सन्दिप सापकोटा, माध्यमिक विद्यालय रुपाकाेटका निमित्त प्रधानाध्यापक खिम बहादुर ओली, संस्थाकी रिया चाैधरी लगायत विद्यार्थी तथा अभिभावकहरुकाे उल्लेख्य सहभागीता रहेको थियो ।

संस्थाकी विद्यार्थी संयाेजक दिपा चाैधरीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे सहजीकरण संस्थाकी महिला शसक्तिकरण संयाेजक सरिता चाैधरीले गर्नुभएको थियो ।

संस्थाले केही महिना अघि पनि उक्त विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीहरु शैक्षिक सामाग्री प्रदान गरेको थियोे भने गाउँपालिकाका अन्य विद्यालयका विपन्न विद्यार्थीहरुलाई समेत विभिन्न सहयोग गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation