दाङ २७ मंसिर । पूर्व जनमुक्ति सेनाहरुद्वारा सञ्चालित जनमुखी सेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे कार्यालय बुधबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी नयाँ बजारमा उद्घाटन गरिएकाे छ ।
दाङ जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरु संगठित भई आर्थिक सम्वृद्वि तर्फ अग्रसर हुने उदेश्यले संस्था स्थापना गरि सञ्चालनमा ल्याइएको हाे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बुधबार कार्यालयकाे उद्घाटन गर्नु भएको छ ।

कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्टले देशको व्यवस्था परिवर्तन गर्न इतिहास रचेका पूर्व जनमुक्ति सेनाहरु अब सहकारीको माध्यम बाट आर्थिक सम्वृद्धि तर्फ लाग्नुपर्ने बताउनुभयाे ।
त्यस्तै उहाँले सहकारीलाई उत्पादन सँग जाेडी राेजगारी सिर्जना गर्न समेत सुझाव दिनु भयो ।
संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर ‘टार्जन’ले पछिल्लो समय सहकारी संस्था सञ्चालन गर्न विभिन्न चुनाैती र विकृतिहरु देखिए तापनि आफूहरूले कुशल र पारदर्शी रूपले सञ्चालन गर्ने बताउनुभयो ।
सहकारी जिल्ला भरि छरिएर रहेका पूर्व जनमुक्ति सेनाहरुकाे भेटघाट, छलफल र सहकार्य गर्ने थलो सँगै आर्थिक सम्वृद्वीकाे माध्यम समेत भएको उहाँको भनाइ छ ।
जिल्ला भरि एक हजार पाँच सय बढी पूर्व जनमुक्ति सेनाहरु रहेकाे बताइएको छ ।
शुरुआती चरणमा सीमित शेयर सदस्य रहे तापनि यसलाई विस्तार गर्दै लैजाने संस्थाका उपाध्यक्ष दिपेन्द्र कुमार घर्ती ‘प्रभाकर’ले बताउनुभयो ।
संस्थाका अध्यक्ष विन प्रसाद पुन मगर ‘टार्जन’काे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरुकाे सहभागी रहेको थियो ।

संस्थाका संस्थापक शेयर सदस्य परिमान बुढा मगर ‘क्षतिज’ काे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण सचिव मान बहादुर शाही ‘प्रभात’ले गर्नु भएको थियो ।
संस्थाले पहिलो चरणमा शंकर माध्यमिक विद्यालय पिपरीकाे करिब सात बिघा जग्गा भाडामा लिएर गहुँ तथा केरा खेती शुरु गरेको छ ।











