देउखुरी १४ पौष । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले महोत्सव लगाउने भएको छ । राप्ती उद्योग वाणिज्य संघले शनिवार भालुवाङमा पत्रकार सम्मेलन गरेर राप्ती २, लालमटियाको टुडिखेलमा ‘छैठौं राप्ती–लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८०’ सञ्चालन हुने जानकारी गराएको छ ।
‘कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । संयोजक खड्काले भने ‘राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यहि पुष २६ गतेदेखि माघ ८ गतेसम्म लालमटियामा महोत्सव सञ्चालन हुने छ ।’
महोत्सवमा विभिन्न १ सय ५० बढी स्टलहरु राखिने छ भने करीब चार लाख दर्शकले महोत्सवको अवलोकन सहित ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको संयोजक खड्काले जानकारी दिए । स्थानीय उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ ।
महोत्सवबाट आम्दानी भएको रकमबाट उद्योग बाणिज्य संघको भवन निर्माण तथा विपत व्यवस्थापनमा खर्च गरिने संयोजक खड्काले बताए ।
महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजको दावी रहेको छ । संघका महासचिव नारायण शर्माले राजधानी क्षेत्र भित्र रहेका पर्यटकिय क्षेत्रलाई अगाडी बढाउन महोत्सवको मुख्य भुमिका रहेन बताए । शर्माले भने ‘यस क्षेत्र भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान झल्काउने एउटा छुट्टै स्टल रहनेछ ।’
महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवमा पर्यटन तथा कृषिका लागि २० वटा स्टल निश्रशुल्क रुपमा छुट्टाइएको छ । महोत्सव अवधिभर चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहनेछन् । विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा समेत गराईने छ संघले जनाएको छ ।
महोत्सव अवधीभर न्यु डान्स क्रेशनको साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहनुको साथै महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार, दोसो हुनेलाई नगद १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था समेत गरीएको संयोजक खड्काले जानकारी दिए ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । महोत्सवको उद्घाटनका दिन निकालिने साँस्कृतिक झाँकीमा प्रथम, द्धितिय र तृतिय हुने झाँकीहरुलाई क्रमस १० हजार, ७ हजार र ५ पुरस्कार प्रदान गरीनुको साथै झाँकीमा सहभागी सवै समुहलाई सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरीने छ ।
संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा जगत पोख्रेलको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति, बाबुराम थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, नारायणप्रसाद शर्माकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रेमबहादुर केसीको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, कृष्णराज पौडेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति, श्रीधर खत्रीको संयोजकत्वमा आर्थिक उपसमिति, भरतमणी न्यौपानेकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, टोव ब. झार्कीको संयोजकत्वमा अनुगमन उपसमिति, गोविन्द केसीको संयोजकत्वमा साँस्कृतिक झाँकी उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति, मोहन श्रेष्ठको संयोजकत्वमा यातायात उपसमिति र तपराज आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।
पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव नारायण शर्माले गरेका थिए ।











