शुक्रबार, जेष्ठ २९, २०८३

गढवा गाउँपालिकामा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन

गढवा २९ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ ।

गढवा गाउँपालिकाको आयोजना बुधवार गढवा ४ प्रसेनी स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा विद्यार्थी संघ अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत मानसिक स्वास्थ्य सचेतना, लागूपदार्थ दुर्व्यसन नियन्त्रण, बालविवाह न्यूनीकरण तथा विद्यार्थीसँग अन्तरक्रिया एवं सुझाव संकलन सत्र सञ्चालन गरिएको थियो ।

मानसिक स्वास्थ्य सम्बन्धी सहजीकरण गढवा गाउँपालिकाका मनोपरामर्शदाता आकार ज्ञवालीले, लागूपदार्थ दुर्व्यसन नियन्त्रण विषयमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले तथा बालविवाह नियन्त्रण सम्बन्धी प्रशिक्षण जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादवले दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले पठनपाठनका क्रममा भोग्नुपरेका समस्या तथा विद्यालयका आधारभूत आवश्यकतासम्बन्धी सुझावहरू संकलन गरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई बुझाएका थिए । विद्यार्थीबाट प्राप्त मागपत्र ग्रहण गर्दै अध्यक्ष पोख्रेलले विद्यालयका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखी आगामी बजेट तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र विद्यार्थी सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै विद्यालयबाट प्राप्त सुझाव तथा मागका विषयमा आवश्यक छलफल गरी आगामी नीति तथा कार्यक्रममा समेटिने जानकारी दिनुभयो ।

गढवा गाउँपालिका–४ स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममूरत यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशवप्रसाद शर्मा, सहायक प्रधानाध्यापक लालबहादुर भण्डारी, प्रहरी निरीक्षक डबलबहादुर बम, प्रधानाध्यापक रामसुरत यादव, मनोपरामर्शदाता आकार ज्ञवाली, शिक्षिका तथा मनोपरामर्शदाता रिता शर्मा लगायत शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखाका हरी पोख्रेलले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation