शुक्रबार, जेष्ठ २९, २०८३

सुनौलो हजार दिनका आमाहरूलाई पोषिलो जाउलो बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

देउखुरी २९ जेठ । राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका आमा तथा बालबालिकाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले राप्ती गाउँपालिका स्वास्थ्य शाखाले पोषिलो जाउलो प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा मसुरिया, देउखुरी दाङ, लुम्बिनी प्रदेशको आयोजनामा राप्ती गाउँपालिका–२ करम्दीस्थित बराखुट्टी सामुदायिक वन उपभोक्ता समूह भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुनौलो हजार दिनका आमाहरूलाई पोषणयुक्त जाउलो बनाउने तरिका, यसको महत्व तथा बालबालिकालाई सन्तुलित र पौष्टिक आहार खुवाउने विधिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । स्थानीय स्तरमै उपलब्ध खाद्य सामग्रीको प्रयोग गरी पोषिलो जाउलो तयार गर्ने विधि प्रदर्शन गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा फुलबारी स्वास्थ्य आमा समूहकी स्वयंसेविका सरस्वता पोख्रेल, लालीगुराँस स्वास्थ्य आमा समूहकी स्वयंसेविका गोमा केसी तथा देउराली स्वास्थ्य आमा समूहकी स्वयंसेविका रत्ना भुषालको सक्रिय सहभागिता रहेको थियो ।

सहभागी आमाहरूलाई बालबालिकाको स्वस्थ वृद्धि तथा विकासका लागि आवश्यक पोषणसम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।

प्रशिक्षण तथा सहजीकरण राप्ती गाउँपालिका वडा नं. २, लालमटिया स्वास्थ्य इकाइकी लक्ष्मी श्रेष्ठ पौडेलले गर्नुभएको थियो । उहाँले पोषणयुक्त खानाको नियमित प्रयोगले आमा र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै घरमै उपलब्ध सामग्रीबाट पनि पौष्टिक परिकार तयार गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी आमाहरूले प्राप्त ज्ञान तथा सीपलाई दैनिक जीवनमा व्यवहारिक रूपमा लागू गर्दै बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रम सहभागीहरूको उत्साहपूर्ण उपस्थितिका बीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation