भालुवाङ २९ जेठ । लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको राप्ती गाउँपालिकामा सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोग सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती गाउँकार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा मसुरिया देउखुरी दाङको आयोजनामा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सिकल सेल एनिमिया र थालेसेमिया जस्ता वंशाणुगत रोगहरूको समयमै पहिचान तथा उपचारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत राप्ती आधारभूत अस्पताल, कालापानीमा रोग परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिने तथा नागरिकलाई सहुलियत दरमा औषधि सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सिकल सेल एनिमिया, थालेसेमिया लगायत रक्तजन्य रोगबारे जानकारी गराउँदै गत माघ महिनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमार्फत ४ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार बिरामी परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था, लुकेर रहेका बिरामीको पहिचान तथा विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
त्यसैगरी, स्वास्थ्य कार्यालय दाङका रक्तजन्य रोग फोकल पर्सन उज्ज्वल कुमार पौडेलले सिकल सेल रोग सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले रोगको कारण, लक्षण, रोकथाम तथा उपचारका उपायबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका अध्यक्षहरू, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यवसायीका प्रतिनिधि, युवा क्लब, महिला स्वास्थ्य स्वयंसेविका तथा बिरामीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
राप्ती गाउँपालिकाले सिकल सेल एनिमिया, थालेसेमिया तथा अन्य रक्तजन्य रोग सम्बन्धी सचेतना कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका स्वास्थ्य शाखाका पोषण राज शर्मा (जनस्वास्थ्य निरीक्षक)ले गर्नुभएको थियो ।











