बिहिबार, असार ११, २०८३

राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट

मसुरिया ११ असार । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतसमेतबाट प्राप्त हुने आयका आधारमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ तथा चालुतर्फ ५५ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा तहमा सञ्चालन हुने चालु तथा पुँजीगत कार्यक्रमका लागि ६ करोड ६९ लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान गरी ५४ करोड ३२ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटमार्फत ६ करोड ४७ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोत, रोयल्टी बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन तथा चालु आर्थिक वर्षको मौज्दात रकमसमेत गरी २ करोड ५ लाख रुपैयाँ आन्तरिक आम्दानी जुट्ने अनुमान गरेको छ ।

उपाध्यक्ष चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा अनुमान गरिएको ६५ करोड २७ लाख २ हजार रुपैयाँ आयको तुलनामा आगामी वर्षको आय अनुमान ९ करोड ७७ लाख ९४ हजार रुपैयाँ (१४.९८ प्रतिशत) ले बढी रहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड २७ लाख २ हजार रुपैयाँ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट गत वर्षको तुलनामा करिब १० करोड २२ लाख ४० हजार रुपैयाँले बढी रहेको छ ।

गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation