देउखुरी । प्रगतिशील शैक्षिक दर्शनलाई आत्मसात् गर्दै गुणस्तरीय शिक्षामा अग्रसर चैतन्य पाठशाला, राप्ती उपत्यका, मौरीघाट, देउखुरी–दाङ ले कक्षा १२ उत्तीर्ण विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि एक भव्य तथा गरिमामय दीक्षान्त समारोह सम्पन्न गरेको छ ।
विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार एवं सहप्राध्यापक रेग भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रम विद्यालयका सहायक प्राचार्य बसन्तराज भट्टराईको हार्दिक स्वागत मन्तव्यबाट प्रारम्भ भएको थियो । अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, प्राचार्य तथा अन्य अतिथिहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो ।
समारोहको प्रारम्भमा विद्यार्थीहरू अरुणिमा तामाङ, सुजाता चौधरी र कविता थापाले मनमोहक स्वागत नृत्य प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए । त्यसैगरी कक्षा ११ का छात्राहरू इच्छा केसी, स्नेहा थापा, सिमरन चौधरी, स्मृति केसी, जेनिसा पाण्डे र प्रतीक्षा आचार्यले प्रस्तुत गरेको आकर्षक सांस्कृतिक नृत्यले समारोहलाई थप उल्लासमय बनाएको थियो ।
विद्यालयकी प्राचार्य सुषमा रेग्मीले दीक्षित विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्दै ज्ञान, अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वप्रति समर्पित रहने शपथ गराउनुभएको थियो । त्यसपछि उहाँले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई चैतन्य पाठशाला राप्ती उपत्यकाका आधिकारिक दीक्षित विद्यार्थी भएको घोषणा गर्नुभएको थियो ।
विद्यार्थीहरूको तर्फबाट छात्र सन्देशले भावपूर्ण धन्यवाद तथा आभार मन्तव्य व्यक्त गर्दै विद्यालय परिवार, शिक्षक, अभिभावक तथा सम्पूर्ण सहयोगीप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।
प्रमुख अतिथि रेग भण्डारीले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै ज्ञान, सीप, अनुसन्धान र नवप्रवर्तनमार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउन प्रेरित गर्नुभयो ।
सम्पूर्ण कार्यक्रम अङ्ग्रेजी माध्यममा सञ्चालन गरिएको थियो, जसले विद्यालयको अन्तर्राष्ट्रियस्तरको शैक्षिक अभ्यासलाई झल्काएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका अङ्ग्रेजी विषय शिक्षक टंकेश्वर न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रमको समापन अध्यक्ष डा. जीवराज आचार्यले प्रेरणादायी समापन मन्तव्य व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई जीवनभर सिकाइलाई निरन्तरता दिन, उच्च नैतिकता कायम राख्न तथा समाज र राष्ट्रप्रति जिम्मेवार नागरिकका रूपमा स्थापित हुन शुभकामना व्यक्त गर्नुभयो ।
भव्य, सभ्य र भावनात्मक वातावरणमा सम्पन्न यस दीक्षान्त समारोहले विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ अध्यायको शुभारम्भ गर्दै उनीहरूका जीवनमा अविस्मरणीय क्षणको रूपमा आफ्नो विशेष छाप छोड्न सफल भएको विद्यालयले जनाएको छ ।











