बिहिबार, माघ २३, २०८२

राप्तीमा विद्यार्थीलाई रिमेडियल (अतिरिक्त) कक्षा, आगामी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य

मसुरिया । दाङको राप्ती गाउँपालिकाले आधारभूत र माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयहरुमा निःशुल्क रिमेडियल (अतिरिक्त) कक्षा सञ्चालन गरेको छ ।

गाउँपालिकाभित्रका ७ माध्यमिक र ७ आधारभूत विद्यालय गरि १४ वटा विद्यालयमा रिमेडियल(अतिरिक्त) कक्षा सञ्चालन भइरहेका छन् । कक्षा ८ र १० मा अध्ययनरत १६ सय ६२ जना विद्यार्थीलाई गाउँपालिकाले अतिरिक्त कक्षा दिइरहेको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

‘विद्यार्थीहरुको नतिजा सुधार तथा सिकाइ उपलब्धी वृद्धिका गर्नका लागि तीन विषयको अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘विद्यालय समय बाहेक कम्तिमा ३० दिन विज्ञान, गणित र अंग्रेजी विषयको अध्यापन गराउन सबै सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छौं ।’

माध्यमिक विद्यालय माैरीघाट,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ्ग, आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया, ज्ञानाेदय माध्यमिक विद्यालय पत्थरगढवा, माध्यमिक विद्यालय रुपाकाेट, शंकर माध्यमिक विद्यालय पिपरी, सर्वाेदय माध्यमिक विद्यालय सिसहनियामा अतिरिक्त कक्षा सञ्चालन भइरहेका छन् ।

यस्तै जनज्योति आधारभूत विद्यालय नयाँगाउँ, विपि आधारभूत विद्यालय बसन्तपुर, नवप्रतिभा आधारभूत विद्यालय पाखापानी, दुर्गा भवानी आधारभूत विद्यालय मसुरिया, जनकल्याण आधारभूत विद्यालय पहरुवा, जनता आधारभूत विद्यालय करङ्गेकाेट र सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनियामा पनि अतिरिक्त कक्षाहरु सञ्चालन भइरहेका छन् ।

फागुन १३ गतेबाट निशुल्क रुपमा रिमेडियल (अतिरिक्त) कक्षाहरु सञ्चालन भइरहेका हुन् । एसईईमा राप्तीलाई जिल्लामै उत्कृष्ट नतिजा ल्याउने पालिका बनाउन शिक्षकहरुलाई शाखा प्रमुख विकलेले निर्देशन समेत दिनु भएको छ ।

रिमेडियल कक्षा सञ्चालन भएपछि एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई पठनपाठनमा सघाउ पुगेको छ । “गरिब परिवारका विद्यार्थीले ट्युसन पढन सक्ने अबस्था हुदैन” शिक्षा समितिका संयाेजक तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भन्नुुभयो, “त्यस्ता विद्यार्थीले रिमेडियल (अतिरिक्त) कक्षामा सहभागी भएर नबुझेका विषयबस्तुसँगै परीक्षामा सोधिने प्रश्नबारे शिक्षकलाई सोधेर सामाधान खोज्छन्, यसबाट राम्रो अङ्क ल्याउन मद्दत पुग्छ ।”

अतिरिक्त कक्षाको गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा समितिका सदस्यहरू र शिक्षा शाखाका कर्मचारीहरू द्वारा नियमित रुपमा अनुगमन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation