शिवपुराण तथा श्रृङ्गारिक महाआरती उद्घाटन सम्पन्न

दाङ घोराही | २०८३ साउन १, शुक्रबार

दाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित शिव मन्दिर परिसरमा शिवपुराण तथा श्रृङ्गारिक महाआरती कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डी.सी. प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर डी.सी.ले मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक गतिविधिको प्रवर्द्धनका लागि घोराही उपमहानगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिवपुराणका वाचक नरेश नेपाल तथा उपवाचक दीपक न्यौपानेको विशेष उपस्थिति रहेको थियो ।

साथै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, सङ्घीय शहरी विकास तथा भवन कार्यालयका प्रतिनिधि, डिभिजन वन कार्यालय दाङका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रतिनिधि, पतञ्जलि, वडा कार्यालयका प्रतिनिधि, नमस्ते स्वास्थ्य अभियानका प्रतिनिधि, राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, वयलडाडा चौतारी क्लबका अध्यक्ष नारायण भुषाल र विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निमबहादुर चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम मन्दिर परिसरमै आयोजना गरिएको थियो भने सञ्चालन समितिका सचिव विष्णुराम आचार्यले गर्नुभएको थियो ।

धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रमले स्थानीय समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै मन्दिरको संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation