गढवा १ पौष । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी निशुल्क शिविर सोमबार गढवामा सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको थियो ।
गढवा गाउँपालिका वडा नम्बर ६ गढवा स्थित गढवा स्वास्थ्य चौकीमा सञ्चालन भएको निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पुगेका १२ जना महिलाहरुले मिनिल्याप सेवा लिएको परिवार नियोजन फोकल पर्शन(पहेन) रिता न्यौपानेले जानकारी दिनु भयो ।
संख्यात्मक रुपमा कम जस्तो देखिएपनि परिवार नियोजनका अन्य उपाय र स्थायी बन्ध्याकरण गर्नेको संख्या सन्तोषजनक नै रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो ।
स्वास्थ्य कार्यालयले गत मङ्सिर २८ गतेदेखि पौष १२ गतेसम्म १० जिल्लाका स्थानमा निःशुल्क रुपमा पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालन गरेको जनाएको छ ।
स्वास्थ्य कार्यालयको आयोजना र नेपाल परिवार नियोजन सङ्घ नेपालगन्जको प्राविधिक सहयोगमा जिल्लाका विभिन्न स्थानमा परिवार नियोजन सेवाको निःशुल्क स्थायी बन्ध्याकरण घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सन्तानको रहर पूरा भएका जोसुकै नागरिकले स्थायी बन्ध्याकरण गर्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।