शनिबार, जेष्ठ ३०, २०८३

बाल संसार एकाडेमीका विद्यार्थीद्वारा गढवा गाउँपालिकाको प्रशासनिक कार्यालयमा अध्ययन अवलोकन

गढवा ३० जेठ । गढवा गाउँपालिका वडा नम्बर ६ स्थित बाल संसार एकाडेमीका विद्यार्थीहरूले आज गढवा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पुगेर गाउँपालिकाको सेवा प्रवाह, प्रशासनिक संरचना तथा स्थानीय सरकारको कार्यप्रणालीबारे अध्ययन अवलोकन गरेका छन् ।

अध्ययन अवलोकनका क्रममा विद्यार्थीहरूलाई गाउँपालिकाले प्रदान गर्ने विभिन्न सेवाहरू, योजना निर्माण प्रक्रिया, जनप्रतिनिधिको भूमिका तथा स्थानीय तहको दैनिक कामकारबाहीका विषयमा जानकारी गराइएको थियो । विद्यार्थीहरूले जिज्ञासा राख्दै स्थानीय सरकार सञ्चालनका विविध पक्षबारे प्रत्यक्ष अनुभव समेत प्राप्त गरेका थिए ।

यस अवसरमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा र व्यवहारिक ज्ञानलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालयमा पढाइने विषयवस्तुसँगै स्थानीय सरकार, प्रशासन र सामाजिक उत्तरदायित्वबारे जानकारी लिन यस्ता अध्ययन अवलोकन कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष पोख्रेलले भन्नुभयो, “आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र नेतृत्व हुन्। किताबमा सीमित नभई व्यवहारिक ज्ञान हासिल गर्न सके भविष्यमा समाज र राष्ट्र निर्माणमा अझ प्रभावकारी भूमिका खेल्न सकिन्छ । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसको काम, जिम्मेवारी र सेवाबारे विद्यार्थीले अहिलेदेखि बुझ्नु आवश्यक छ ।”

उहाँले विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच र निरन्तर सिकाइतर्फ प्रेरित गर्दै आफूले देखेका र सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

विद्यालयका शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, जिज्ञासा र नागरिक चेतना विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation