शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्थानीय कागज प्रयोग गर्न मुख्यमन्त्रीलाई राप्तीका अध्यक्ष विष्टको आग्रह

सिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

आइतबार मुख्यमन्त्री कार्यालयमै पुगेर अध्यक्ष विष्टले वडा नं. ४ पिपरखुटीमा स्थापना भएको नेपाली हाते कागज उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न यस्तो आग्रह गर्नुभएको हो ।

अध्यक्ष विष्टले नेपाली कागज उद्योगले स्थानीय बावियो (खर) र लोक्ताको उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेको बताउँदै स्वदेशी उत्पादनलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। “यसले स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना र वातावरण संरक्षणमा सहयोग पुग्छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाली कागज जस्ता स्वदेशी र वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै मुख्यमन्त्री आचार्यले स्थानीय उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै यसबारे आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

राप्ती गाउँपालिका वडा नं. ४ पिपरखुटीमा उद्योगी डम्बरबहादुर जिसीले स्थापना गर्नुभएको नेपाली हाते कागज उद्योगमा हाल २० जना स्थानीयवासीले रोजगारी पाएका छन् । पालिकाले उद्योगको स्तरवृद्धिका लागि विभिन्न उपकरण र सहजीकरणमा निरन्तर सहयोग गर्दै आएको छ ।

उद्योगले उत्पादन गरेको नेपाली हाते कागजलाई स्वदेशी बजारमा प्रवर्द्धन गर्ने र सरकारी निकायहरूमा प्रयोग गराउने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र उद्योगी डम्बरबहादुर जिसीकाे समेत उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation