गढवा २० जेठ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ४० जना किसानले आफ्नो खेतको माटो परीक्षण गराएका छन् ।
शिविरमा किसानहरूले आफ्नो खेतको माटो परीक्षण गराई माटोको अवस्था, आवश्यक पोषक तत्व तथा मलखादको उचित प्रयोगबारे जानकारी प्राप्त गरेका थिए । साथै विभिन्न बालीमा देखिएका रोग तथा कीराको पहिचान गरी उपचार सम्बन्धी प्राविधिक परामर्श समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष राहुल देव चौधरीले किसानको उत्पादन वृद्धि र लागत न्यूनीकरणका लागि माटो परीक्षण अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले माटो परीक्षणपछि प्राप्त सिफारिसका आधारमा मात्र मलखाद प्रयोग गर्न किसानहरूलाई आग्रह गर्दै यसले उत्पादन बढाउनुका साथै माटोको उर्वराशक्ति संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो ।
वडाध्यक्ष चौधरीले गढवा गाउँपालिकाले किसानको घरदैलोमै पुगेर कृषि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती शिविर प्रभावकारी भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वडा नम्बर ७ का वडाध्यक्ष राहुल देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव शिव शर्मा, नन्दकला आचार्य, गढवा गाउँपालिका कृषि प्राविधिक हेमराज पुन, कृषि सहायक फुलनदेवी चौधरी लगायतको सहभागिता रहेको थियो ।
गढवा गाउँपालिका कृषि विकास शाखाले किसानलाई वैज्ञानिक कृषि प्रविधिसँग जोड्ने उद्देश्यले गाउँपालिकाका विभिन्न वडामा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सञ्चालन गरिरहेको गढवा गाउँपालिका कृषि विकास अधिकृत कर्ता राम यादवले जानकारी दिनुभयो ।











