दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको हर्षेडाँडालाई लुम्बिनी प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।
शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सो क्षेत्रको अध्ययन अवलोकन गर्दै सो क्षेत्रलाई राजधानीकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । राजधानीको प्रचार प्रसार सँगै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पनि राजधानी क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुलाई थप व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
सो क्षेत्रमा कालिका मन्दिर, प्रतिक्षालय, सेल्फी स्पोर्ट, ताल, पिकनिक स्पोर्ट लगायतका संरचनाहरु रहेका छन् । अवलोकन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश राजधानी जग्गा एकिकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, वडा सदस्यहरु, कालिका सामुदायिक वनका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।