
गढवा । हुलाकी सडक खण्डको कालाकाटे गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुने भएको छ । हुलाकी सडक खण्ड निर्माणाधिन अवस्थामा रहँदा स्थानीयहरुको जनजीवन बेहाल बनेको छ ।
राष्ट्रिय गौरवको योजना कालाकाटे सिक्टा सडक खण्डको काम तिब्र गतिमा गरिने बताइएको छ । कालाकाटेबाट शुरु भई बाँकेको नेपालगंज जोड्ने सडक निर्माणको लागि २०७६ कात्तिकबाट योजना सम्झौता भइ काम शुरु भएको योजना मुआव्जा विवाद, वनसंगको समन्वय नहुँदा समस्या भएपनि अहिले कामले तिब्रता पाउने भएको छ ।
कुल १ अर्व ३७ करोडको लागतमा निर्माण हुनथालेका कालाकाटे सिक्टा हुलाकी राजमार्गमा पर्ने ६ वटा पुल निर्माण हुने भएपनि अहिले दाङको गढवा गाउँपालिकाको महदेवामा खोलाको पुल र गढवा गाउँपालिकाको मानपुर खोलापुल निर्माणधिन अवस्थामा छन् ।
त्यसैगरी कालाकाटे देखि गढवासम्मको २० किलोमिटर हुलाकी राजमार्गको योजना बज्रगुरू कान्छाराम जेभिले लिएको छ । ०७६ कार्तिक २९ गते देखि बज्रगुरूले निर्माणको काम सुरु गरेको हो । उक्त कम्पनीले तीन वर्षमा काम सक्ने गरि ठेक्का लिएको थियो । तर बिभिन्न कारण देखाई काम रोकेको थियो। गढवा गाउँपालिकाको पटक पटकको अनुरोध पछी अहिले निर्माण कार्यमा लाग्ने तयारीमा रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
“हामी तयारी गरिरहेका छौ, धेरै महिनादेखि काम बन्द भएकोले गाडीहरु खराब भएका छन्, सबै गाडीहरुको सर्भिस् र मर्मत गराइरहेका छौ सम्भवतः यही पुस महिनाको तेस्रो साता बाटै निर्माण कार्य सुरु गर्छौ” बज्रगुरू कान्छाराम जेभिका साईड इन्चार्ज प्रकाश रानाले जानकारी दिनुभयो ।
कालाकाटे देखि गढवा सम्म २० किलोमिटर उक्त हुलाकी राजमार्ग रहेको छ । राजमार्गमा उड्ने धुलोले जनजीवन कष्टकर बनेको छ । पालिकाको अनुरोधमा पानी हाल्ने काम भएको छ भने दैनिक हिड्ने टिप्पर र गाडीहरूले बाटो धुलाम्मे बनेको छ ।
०७६ मंसिर १ देखि गढवा जंग्रहवा जोड्ने हुलाकी राजमार्गको निर्माणको जिम्मा खड्का कृष्ण प्रालिले लिएको थियो । जो अन्तिम चरणमा रहेको छ । यो योजनाको काम तीन वर्ष भित्र सक्ने गरि सम्झौता भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।
कालाकाटे-गढवा-राजपुर-सिक्टा ५५ किलोमिटर बाटो भारत चेन्नेईको जीबीआर इन्फ्रा प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको हो । कालाकाटे-गढवा राजमार्गको २५ किमि कालोपत्रे भइसकेको छ भने बाँकीको काम हुन सकेको छैन । उक्त राजमार्ग कालोपत्रे गर्ने योजना भए पनि काम अघि बढ्न नसकेको गढवा कालाकाटे आवतजावत गर्न ठुलो समस्या हुने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।