सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ ।

दुई दशकदेखि सिद्रा व्यापार गरिरहनुभएका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए ।

असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन् ।  वर्षभरि ४० देखि ४५ क्विन्टल सम्म सिद्राको व्यापार गर्ने उनले बताए ।

“अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ”, उनी भन्छन् । चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् ।

यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् ।

जाडो हटाउन सिद्राको झोल खाने चलन छ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो ।

रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आउनुभएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताइन ।

जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उहाँले सुनाउनु भयो । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उनको विश्वास छ ।

दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाइन । आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताइन ।

अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउँछन् । आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उनले बताए ।

चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ ।  लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताए ।

भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउछन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation