दाङ । मानव बेचबिखन तथा ओसार पसारको आरोपमा दाङमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १४ की ३९ वर्षीया टोपली सार्की र त्यही ठाउँकी ५२ वर्षीया बिमुसा सार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १४ लखन पार्क नजिकै रहेको टोपली सार्कीले २० वर्षीया एक युवतीलाई भारतको चन्डीगढमा काम लगाई दिने र कमाई पनि राम्रो हुने भन्दै चन्डीगढको यौनजन्य कार्य हुने कोठीमा बेचेकाे प्रहरीले जनाएको छ ।
कोठी सञ्चालकसँग सार्कीले रकम बुझ्दा पीडित युवतीले आफू बेचिएको थाहा पाएकी थिइन् । यौन शोषण भइरहेकाे १२ दिनपछि गएको माघ २२ गते पीडित युवतीले आफ्नी आमालाई जानकारी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा युवती भारतमा बेचिएको उजुरी परेपछि विभिन्न संघ संस्थाको सहयोगमा युवतीको उद्धार गरेर गएको फागुन ४ गते पीडकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत कसुरमा दाङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।