आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङका कुमाल समुदायलाई माटाको भाँडा बनाउन भ्याइनभ्याइ

दाङ । बजारमा माटोको भाँडाको माग बढेपछि गढवा गाउँपालिका १ का ६७ वर्षीय गाजुराम थारू कुमाल दंग परेका छन् । बजारमा माग बढेपछि उनलाई अहिले भ्याइनभ्याइ छ ।

कुनै समय माटोका भाँडाले बजार पाउन मुस्किल थियो । त्यति बेला घरघरमा माटोका भाँडा लैजाँदा समेत मुस्किलले बिक्री हुन्थ्यो । उत्पादित सामान बिक्री नहुँदा कुमाल समुदायको पेशा नै संकटमा परेको थियो ।

पछिल्लो समय सबैभन्दा खुत्रुके, गमला जस्ता धेरै बिक्री हुने गरेको कुमालले बताए । ‘बजारमा गमला, खुत्रुके जस्ता सामान प्लाष्टिकका पाइन्छ’, उनले भने, ‘तर, मानिसहरूले माटोबाट बनेका नै रोज्ने गरेका छन् । आफूले उत्पादन गरेका सामान दाङ लगायत, प्यूठान, कपिलवस्तु र बाँके जिल्लामा जाने उनको दाबी छ । माटोका भाँडा लिन व्यापारी घरमै आइपुग्ने उनले बताए। एकपटक सामान पठाउँदा २०/२५ हजार रुपैयाँ बचत हुने उनको भनाइ छ ।

सोही ठाउँका सुन्दरप्रसाद थारू कुमाल पनि आफ्नो पेशाप्रति सन्तुष्ट रहेको बताउँछन् । उनले बनाएका माटाका भाँडा लिन बाँके, प्यूठान, रोल्पा, कपिलवस्तु र लुम्बिनीबाट घरमै व्यापारी आउँछन् । उनले पनि एक पटकमा ४०/५० हजार सम्म आम्दानी गर्ने गरेको बताए । उनका अनुसार माग अनुसार विभिन्न जिल्लामा माटोका भाँडा पठाइन्छ ।

पछिल्लो समय लोप हुन लागेको माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको अवस्थामा अहिले फेरि सुस्त सुस्त मौलाउँदै गएको नेपाल कुमाल सुधार समितिका केन्द्रीय सदस्य ललित कुमालले बताए । बजार भाउ पनि राम्रो पाएकालेउत्पादन बढाउँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले हरेक होटल, रेष्टुरेन्ट लगायत अन्य ठाउँमा पनि कुमाल जातिले बनाएका माटाका गमला प्रयोग भएको पाइन्छ । केही समय बजारमा माटाका भाँडा बिक्री नहुँदा पेसा ओझेलमा पर्ने अवस्था थियो । तर, अहिले माटोका भाँडाहरू बढी चलिरहेको अवस्था रहेको छ।’ यस्तै पछिल्लो समय वैदेशिक रोजगारमा गएकाहरू पनि फर्किएर आएपछि माटोका भाँडा बनाउने पेशामा लागेको उनले बताए । उनले यो पेशालाई आधुनिकीकरण गरेर लैजान सके अझै राम्रो हुने भन्दै राज्यले यसमा माटोको भाँडा बनाउने कुमाल जातिलाई अनुदान दिने व्यवस्था गर्नु पर्ने पनि बताए ।

गाउँपालिकाको सहयोग :

कुमाल समुदायको परम्परागत पुर्खौली पेशालाई संरक्षण, संवर्धन गर्न गढवा गाउँपालिकाले बजेट नै विनियोजन गरेर काम गर्दै आएको जनाएको छ । कुमाल समुदायको माटोको भाँडा बनाउने पेशा नै नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा संकट रहेको यो पेसालाई लोप हुनबाट बचाउन गाउँपालिकाले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताए ।

उनका अनुसार हिजो कुमाल जातिको पुर्खाले गरेको यो पेशा विस्तारै लोप हुने अवस्थामा रहेको छ । उनले भने,’ अहिलेको युवापुस्ता यो पेशामा आकर्षित भएको पाइँदैन । उनीहरूले पेशालाई व्यावसायिक पनि बनाउन सकेका छैन । त्यसैले हामीले माटोको भाँडा बनाउने पेशाको प्रवर्धन गर्न खोजेका छौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation