दाङ । दाङ सहित ९ जिल्लामा जेठ २५ गतेदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन हुने भएको छ ।
सन् २०२३ सम्म दक्षिण एशियाबाट दादुरा रुवेला पूर्णरुपमा निवारण गर्ने लक्ष्य पुरा नभएपछि ९ जिल्लामा थप दादुरा रुवेला खोप सञ्चालन हुन लागेको हो । सन् २०२३ सम्म निवारण हुन नसकेपछि सन् २०२६ सम्ममा दक्षिण एशियावाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिइएको छ ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सोमबार आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरूसँगको अभिमुखिकरण तथा समन्वय बैठकमा नेपाल सरकारले दाङ सहित ९ जिल्लामा जेठ २५ गतेदेखि दादुरा रुवेला खोप सञ्चालन हुन लागेको जानकारी गराइएको छ ।
दादुरा मिजल्स भाईरसको कारणबाट छिटो सर्ने संक्रामक रोग हो । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । दादुरा रुबेला सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्ने गर्दछ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई संकमण सार्ने हुदा यसलाई महामारीको रुप पनि लिने गरिन्छ ।
राप्ती गाउँपालिकामा यहि जेठ २५ देखि ३० गतेसम्म जन्मेको ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ४८ वटा खोप केन्द्रबाट दादुरा रुवेला खोप लगाउने कार्यक्रम रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । करिव १३ हजार ८ सय ४० जना बालबालिकालाई खोप लगाउने रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
देशका विभिन्न जिल्लाहरु जस्तै दाङ पनि उच्च जोखिममा रहेको छ । दाङमा गत वर्ष २९ जनामा दादुरा रुबेला संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप अधिकृत कमल चन्द्र बताए । ‘दाङ पनि दादुरा रुबेला महामारी देखिएको छ’, चन्द्रले भने ‘दादुरा रुबेला रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको छ ।’ दाङमा जेठ २५ गतेदेखि श्रावण ७ गतेसम्म चरणवद्ध रुपमा खोप सञ्चालन हुने स्वास्थ्य कार्यालउ दाङले जनाएको छ ।
बाल मृत्युको कारण मध्ये दादुरालाई पनि एक प्रमुख कारणका रुपमा लिने गरिन्छ । रुबेला रोगको असरहरु दादुरा भन्दा सामान्य प्रकारको हुन्छ तर गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्म हुने तथा गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्गहरू देखा पर्न सक्दछ । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।
प्रमुख लक्षणहरु :
दादुरा रुबेलाको संक्रमण भएमा विशेषगरी ज्वरो आउने, शरीरमा राता विमीरा देखा पर्ने, रुघा खोकीको लक्षण (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि) जस्ता लक्षणहरु देखा पर्ने गर्दछ । रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।
दादुरा रुबेलाको जटिलता :
दादुरा संक्रमण देखा परेमा आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण जस्ता जटिलता हुन सक्छ भने रुवेलाबाट हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी, रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) जस्ता जटिलता देखिने गर्छ । यस्ता जटिलताको कारण कहिलेकाही बालबालिकाको मृत्यु समेत हुन सक्छ ।
दादुरारुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा रुबेला विरुद्धको खोप लिनु नै हो । दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । त्यसैले आफ्नो पायक पर्ने स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाउन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले सबैलाई अनुरोध गरेका छन् ।
राप्ती गाउँपालिकाको खोप केन्द्रबाट दादुरा रुवेला खोप लगाउने समय तालिका निम्नानुसार रहेको छ :