देउखुरी । राप्ती गाउँपालिका ७ निवासी विद्याबहादुर चौधरीले धान फल्ने खेत मासेर केरा खेती थाल्दा परिवारभित्रै कुरा मिलेन । छिमेकीले पनि भोकै मर्ने भए भनेर टिप्पणी गर्थे तर विद्याबहादुरलाई केरा खेतीमा फेल हुन्छु भन्ने लागेकै थिएन । यद्यपि पहिलो वर्ष केरामा रोग लाग्यो । फस्टाउन पाएन । परिवारका सदस्य र छिमेकीलाई बल पुग्यो । जेनतेन पहिलो फसलमा सन्तोषजनक भयो । त्यसपछि विद्याबहादुरलाई केराले साथ दियो । अहिले वार्षिक दश लाखसम्मको कारोबार यही केराबाटै हुने गरेको छ । अझै केरा खेतीको क्षेत्रफल बढाउने हिम्मत उहाँमा पलाएको छ ।
‘सानो छँदा पढ्न लेख्न पाइएन । कमैया बसियो । त्यसपछि गाडीमा हिड्न थालियो । काम गर्दै जाँदा केरा खेतीसँग नजिक हुन पाइयो । जानेको काम यही भयो । अहिले आफ्नै गाउँमा केरा फलाउँदै छु’– उहाँले भन्नुभयो– ‘केरा खेतीबाट आम्दानी हुन थालेको छ । भारतबाट आउने मिलेको कोसा जस्तो केरा फलाउन दुःख छ तर यहाँ गरेको मेहनत अनुसार बजार पाउने हो भने केराले राम्रै आम्दानी दिन्छ ।’ दाङमा केरा खेतीको लागि उपयुक्त जमिन, हावा, पानी र वातावरण छ । जसले गर्दा धान खेती गर्दै आएका किसानले धानको सट्टा केरा खेती गर्न थालेका छन् । धानखेती नगरेर केरा खेती गरेकोमा छरछिमेकीले कुरा काटे पनि अहिले केराबाट राम्रो आम्दानी भएको देखेपछि प्रशंसा गर्न थालेका छन् ।
विद्याबहादुर चौधरीले अहिले तीन विगाह एक कट्ठा जग्गामा केरा खेती गर्नुभएको हो । राम्रो गुणस्तरको केरा व्यापारीलाई दिन सके बजारमा समस्या नरहेको उहाँको भनाइ छ । यस्तै तीर्थराज ज्ञवालीले सात वर्षअघि थोरै बोटबाट व्यावसायिक केरा खेती शुरु गर्नुभयो । अहिले उहाँको केरा खेती ५० कट्ठामा फैलिएको छ । चाडपर्व र सिजनलाई हेरेर केरा खेती गरिएको, उत्पादन भएको केरा बिक्री गर्न केही सहज भए पनि ढुक्कको बजारको खोजीमा रहनुभएको छ । तीर्थराज मात्रै होइन, राप्ती गाउँपालिकाको वडा नं. ७ भित्र करिब २५ विगाह भन्दा बढी जग्गामा केराको व्यावसायिक खेती गरिएको छ । ‘बजारको व्यवस्थापन हुने हो भने हामीले ढुक्कसँग केरा खेती फैलाउन सक्छौं’– उहाँले भन्नुभयो– ‘बजार व्यवस्थापनमा मात्रै सरकारले सहयोग गर्ने हो भने हामीलाई हौसला मिल्ने थियो ।’
युवराज पन्थी पनि केरा खेतीमै संलग्न हुनुहुन्छ । जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका उहाँले निराश भइहाल्ने अवस्था नरहेको बताउनुभयो तर बजार सुनिश्चित हुने हो भने केरा खेतीको क्षेत्रफल बढाउने योजना रहेको सुनाउनुभयो । ‘स्थानीय बजारमा केरा खपत भइरहेको छ । मूल्यमा एकरुपता र बजारको सुनिश्चितता हुने हो भने सहज हुने थियो’– उहाँले भन्नुभयो– ‘जागिर छोडेर खेतीपातीमा लागियो । यहीं केही गर्ने इच्छा छ ।’ भानुभक्त रोकायालाई केरामा लाग्ने रोगले बेला–बेला सताउने गर्छ । केरामा देखिएका रोग प्रकोपको निदान गर्न प्राविधिक जानकारी स्थानीय सरकारले दिनुपर्ने बताउनुभयो । ‘केरामा रोग लाग्छ । हाम्रो तहबाट त्यसको पहिचान गर्न गाह्रो पर्छ । पालिकाबाट आउने प्राविधिकहरुमा पनि कम ज्ञान हँुदा समस्या भइरहेको छ’– उहाँले भन्नुभयो– ‘केराको बारेमा जानेका प्राविधिकहरुको आवश्यकता देख्छु ।’
नेपाली बजारमा भारतबाट केरा आउने गरेको छ । त्यो केराले बजार ढाकेको छ । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसान मर्कामा परेका छन् । किसानले समयमा मल र केराको बीउ नपाउने समस्या छ । सबैखाले समस्याको समाधान गर्दै बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग केरा व्यवसायी किसान समूहका अध्यक्ष रणप्रसाद सुवेदीले राख्नुभयो । राप्ती गाउँपालिकामा केरा खेतीमा संलग्न किसानहरु संगठित भएका छन् । केरा खेतीका लागि किसानहरुले बनाएको समूहले आवश्यक पर्ने सहयोग माग्न स्थानीय तथा प्रदेश सरकारसँग पहल गरिरहेको छ । ‘हामीलाई ढुक्कको केरा बजार चाहिएको छ । हामीले उत्पादन गरेका केराले बजार र मूल्य दुबै पाउने वातावरण बनाउन जरुरी छ’– उहाँले भन्नुभयो– ‘हाम्रा समस्या समाधान गर्न सरकारले ध्यान दिनैपर्छ ।’
दाङमा केरा खेती फस्टाउन थालेको पाइएको छ । किसानहरुले स्वस्फूर्त केरा खेतीमा संलग्न भएपछि उत्पादन बढेको छ । स्थानीय बजारमा खपत हुँदै आएको केराको हाल बजार राम्रो भए पनि ढुक्क हुन सक्ने वातावरण नबनेको किसानहरुले बताएका छन् । सरकारले उत्पादन भएको केराको बजारीकरणको लागि सहजीकरण गर्नुपर्ने किसानहरुको भनाइ छ ।