गजल : जननी जन्म भुमिश्च, स्वर्गादपी गरियसी

मलाई छोडी नजाऊ प्यारा, भन्छिन् प्रियसी
तिमी गए को होला मेरो, साखैको हितैषी

घर छोडेर घर बनाउन, आएको छु म यता
सात समुद्रपारि छैन, सोचेको जस्तो खुसी

परदेशिनु रहर हैन, बाध्यता नेपालीहरूको
स्वदेशमै रोजगारी नदिनु, सरकार हो दोषी

सपना मार्नु पर्छ विपनामा जिउँदै रहनलाई
लगाउँदै आगो बलि दिनुपर्छ, छातिमा टाँसी

आफ्नो जन्मभूमि जस्तो परदेश हुन्न कतै
जननी जन्म भुमिश्च, स्वर्गादपी गरियसी ।

गजल : अप्रत्याशित अनुभूति

जलेको छु आफैँभित्र, देखाउँ म कसरी
जे लेखेथे विधाताले, मेटाउँ म कसरी

जुन दिलबाट, बहिस्कार गरी निकाल्यौ
चुपचाप त्यही दिलमा, आउँ म कसरी

परदेशी छोरोको, आफ्नै कथा-व्यथा छन्
सुखजस्तै, दु:खको खबर पठाउँ म कसरी

कसरी बयान गरुँ म, दिल कुन हालमा छ
अथाह छन् पीडा मनमा, चिच्याउँ म कसरी

अप्रत्याशित अनुभूति, दिलको आज फेरि
को हौ तिमी मेरो, तिमीलाई बताउँ म कसरी

गजल : प्रेमको कोसेली लिएर आउनेछु

के छ कुन्नी तिम्रो, त्यो अधरमा?
कि गल्ती देखियो, मेरो नजरमा

राम खाडीमा, पसिना चुहाउँदै छ
सीता रावणसँग मस्त, छे सहरमा

तिमी त मसँग-सँगै, हिँडेकी थियौ
आज टाढियौ कस्ले, पार्यो करमा

यो बाटो, मलामी मात्र हिँड्ने गर्छन्
उत्सव ध्वनि गुन्जदैनन्, यो नगरमा

म प्रेमको, कोसेली लिएर आउनेछु
प्रतीक्षामा बस्नु उही, पुरानो बगरमा

#साहित्यपोस्टबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation