मसुरीया २८ फागुन । दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधबार साइकल दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
“प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौं” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हाे ।
पालिकाकाे वडा नं. ६ मझेरियादेखि वडा नं. ३ बसन्तापुरसम्म करिब ८ किलोमिटर दुरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
उक्त प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ३ का सागर चाैधरी प्रथम,वडा नम्बर ३ कै बिक्रम चाैधरी द्वितीय र वडा नम्बर २ का वीर बहादुर कुमाल तृतीय भएका छन्।भने महिलातर्फ वडा नम्बर ५ की एन्जिला चाैधरी प्रथम ,वडा नम्बर ७ की पुष्पा चाैधरी द्वितीय र वडा नम्बर ६ की प्रमिला चाैधरी तृतीय भएका छन् ।
विजेताहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कारसहित प्रमाणपत्र फागुन २९ गते औपचारी कार्यक्रमका बीच प्रदान गरिने बताइएको छ। प्रतियोगितामा १६ महिलासहित ७२ जना प्रतिस्पर्धी सहभागी भएका थिए ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय खेलकुद गतिविधिहरू प्रवर्द्धन गर्दै पर्यटन र विकासलाई अघि बढाउने लक्ष्य रहेको बताउनुभयो ।त्यस्तै उहाँले साइकल दौडजस्ता कार्यक्रमले पर्यावरण संरक्षण, स्वास्थ्य सुधार र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समय साइकल चढ्ने बानी हराउँदै गएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले पुनः प्रवर्द्धन गर्न मद्दत गर्ने विचार व्यक्त गर्नुभयो । साथै, साइकल प्रयोगले स्वास्थ्यलाई फाईदा पुग्नुका साथै वातावरण संरक्षण पनि हुने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले साइकल यात्रा शारीरिक र आर्थिक रूपमा लाभदायक हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पछिल्लो समय बिलासीपन बढ्दै गएकाले यस्ता प्रतियोगिताले त्यसलाई न्यूनीकरण गर्न मद्दत गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,अन्य जनप्रतिनिधि, कर्मचारी, प्रहरी, स्काउट, शिक्षकहरु लगायत स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसैबीच, बुधबार नै बीपी आधारभूत विद्यालय बसन्तापुर परिसरमा विभिन्न फलफूलका विरुवा रोपण गरिएको छ ।











