संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संसदीय व्यवस्थाको मर्म अनुसार प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोे ग्रास रुट अभियानअन्तर्गत लमही नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘प्रदेश सरकार फेरबदल हुँदैन । हामी संसदीय व्यवस्थाको मर्म अनुसार अगाडि बढ्छौं ।’

प्रदेश सभाको ठूलो दलको हैसियतले सबै दलको सहमति र सहकार्यअन्तर्गत एमाले अगाडि बढ्ने बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हालसम्म संघीय सरकारमा देखिएको समस्या प्रदेश सरकारमा देखिएको छैन । सत्ता साझेदार दलसँगको आपसी समझदारी अनुसार अगाडि बढिरहेका छौं । प्रदेश सभामा रहेका सबै दलसँग सहकार्य गरी अगाडि बढ्छौं ।’

केन्द्रीय सरकारमा देखिएको समस्याले बामपन्थी आन्दोलनलाई कमजोर बनाएको भन्दै मुख्यमन्त्री गिरीले देशी विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर परिवर्तन बिरोधी कार्य हुन थालेको बताउनुभयो । ‘एमाले–माओवादी बीचको गठबन्धन टुट्नु बामपन्थी आन्दोलन माथिको कुठाराघात हो । यसले बामपन्थी आन्दोलन थप पछाडि ढकेलिने खतरा बढ्यो । विदेशीको इशारामा परिवर्तन बिरोधी गतिविधि सञ्चालन भइरहेका छन् । यसले मुलुक थप संकटग्रस्त बन्छ ।’

नेपाली जनताको लामो संघर्षपछि राजनीति आन्दोलनमा सफलता प्राप्त गरे तापनि विकास र समृद्धिको आन्दोलनमा विजय हासिल गर्न बाँकी रहेको भन्दै मुख्यमन्त्री गिरीले पार्टीलाई जनतासँग जोडेर जनमतको बलमा समृद्धिको आन्दोलनमा सफलता हासिल गर्ने बताउनुभयो । जनताको माया, ममता र सद्भावबाट हुर्किएको नेकपा (एमाले) जनताको बीचबाट टाढा हुन जान थालेपछि जनतासँग पार्टीलाई जोड्न मिसन ग्रास रुट अभियान सञ्चालन गरेको मुख्यमन्त्री गिरीको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation